देशभर केही दिनदेखि परेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा २१ जनाको ज्यान गएको छ। साथै ५ जना घाइते भएका छन् भने ५ जना अझै बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ७ जना र पहिरोमा १४ जनाको मृत्यु भएको हो।
विपद्का कारण १४३ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। ७४७ परिवार प्रभावित भएका छन् भने जोखिममा परेका करिब २ हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ।
असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोका घटना भएका हुन्। सबैभन्दा धेरै वर्षा नवलपरासी (पूर्व) को डेढगाउँमा ५४४.२ मिलिमिटर मापन गरिएको छ।