Saturday 27th April 2024

रामराजा के. सी. का दुइ पाञ्चायन पञ्चाङ्ग


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”

पञ्चाङ्ग ०१

मरेपछि काम लाग्ने बुर्की र टिलो बनायौ
आँखालाई मेरो सधैँ हिलो बनायौ
खेल्नसम्म खेल्यौ नि मेरो मुटुसँग तिमीले
बाँच्नै नसक्ने गरि आज त थिल्थिलो बनायाै
पुगेपछि इच्छा, निचोर्दै फाल्ने पिलो बनायौ ।

पञ्चाङ्ग ०२

फोटो झुन्निछ भित्तामा माकुराले जालो लगाएर
लन्छन् नि महँगो हेैन केबल सेतो टालो लगाएर
बाँचुन्जेल मात्र हो त्यो शरीर प्रतिको घमण्ड यहाँ
मरेपछि कुर्छन् नि छोइएलाभन्दै पालो लगाएर
डढाउँछन् नि माया नगरी ध्वाँसो र कालो लगाएर ।

पञ्चाङ्ग ०३

आँसुको मूल्य थाहा नहुने सामु बगाएर के अर्थ
सिउँदोको सिन्दुर नबुझ्नेलाई लगाएर के अर्थ
म मूर्ख, सुन्न र बुझ्न सक्नेलाई पो भन्नू पर्छ पीडा
निदाएको अभिनय गर्नेलाई जगाएर के अर्थ
नसिबमा नभएको सुख चैन मगाएर के अर्थ

पञ्चाङ्ग ०४

याद आउने बाटा ती सबै रोकिदिए हुन्छ
मस्तिष्कमा अब भोटे ताल्चा ठोकिदिए हुन्छ
व्यर्थ रहेछ मैले सम्झिएर रुनु तिम्लाई
हेँला र तिरस्कारको भारी बोकिदिए हुन्छ
तिम्रो लागि अब मैले जिब्रो टोकिदिए हुन्छ?????

पञ्चाङ्ग ०५

पानी पानी भएँ मुटुको चर्याएर घाउ हेर
नदेऊन सजाएँ अब फर्किएर आऊ हेर
नयनहरू ओछ्याइ बाटो भरी कुरिरहेछु
नगरन बिलम्भ ढोग्छु बरु तिम्रो पाउ हेर
भएकोछु म भर्खर बच्चा मरेको माउ हेर

पञ्चाङ्ग ०६

एक्लो र खाली जीवनको मेरो भयौ भरि तिमी
अरूको थाहा छैन मेरो यो धर्तिको परी तिमी
निरस र सुनसानमा एक्लै भौंतारिरहँदा
भेट्टाएको भगवानसँग प्रार्थना गरी तिमी
मैले गलामा पहिरिने नि माला र जरी तिमी

पञ्चाङ्ग ०७

सुखदुस्ख जिन्दगीको जंघारसँगै तरौंला हामी
भोकै पेट राखेर पनि त संघर्ष गरौंला हामी
बाध्यतालाई दोष देखाइ अब किन टाढा हुनु ?
सँगै भएसि आज जस्तो तड्पिएर नरौंला हामी
सकिँदैन छुट्टिन पछि साथसाथै मरौंला हामी

पञ्चाङ्ग ०८

हराएर मलाई जिन्दगीमा भन्छौ भयो जित तिम्रो
एउटै थियौं हामी, मेरो पिडामा कसरी हित तिम्रो ?
सुन्छु फर्कन्नौ रे त्यो गल्ती र बाटोहरू सँगै हिँडेको
मलाई दिएर धोका तिम्ले सँधै फल्ला र प्रीत तिम्रो ??
भएछु म आज घाम पर्दा बिलाइजाने शीत तिम्रो

पञ्चाङ्ग ०९

नफर्कनु तिमीले बेहोसिमा नि कराएछु भने म
चोलाबाटै अनन्त आकाशमा हराएछु भने म
अन्त्यम पलका त्यो ढुकढुकी र अड्किएछ श्वास
भने नहेर्नु बिजोग मेरो त्यो डराएछु भने म
थुन्नु कान तिम्रो नाम लिइ बर्बराएछु भने म

पञ्चाङ्ग १०

कसरी सक्यौ म बसेको मुटुमा अर्को राख्न तिमीले
मायाको फेर्दै स्वाद तितो हो कि गुलियो चाख्न तिमीले
सुख नसकेनि दिन खुसी दिन्छु त भनेकैद थिएँ
किन बुझिनौ नि माया साँचो थाल्यौ अरु डाक्न तिमीले
सिक्या‌ै कहिले, झुटले आफ्नै मन मुटु ढाक्न तिमीले ।

(रामराजा के.सी., फर्पिङ काठमाडौँ ।


सम्बन्धित शीर्षकहरु

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते…

प्रतिकृयाहरू
...