Sunday 17th May 2026

रौतहटको स्वादिष्ट परिकार मटन कटिया, कसरी बन्छ ?


आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-कटिया नेपालको तराई जिल्ला रौतहटमा पाइने निकै लोकप्रिय परिकार हो । अहिले कटिया जिल्लामा मात्र सीमित नभई राजधानी काठमाडौं र अन्य शहरमा पनि धेरै प्रचलनमा आउन थालेको छ ।

नेपालका राजवंशी तथा ताजपुरिया समाजको मौलिक खाना खसीको कटिया निकै स्वादिष्ट र स्वास्थ्यबर्द्धक पनि छ । कटिया नेपालमा मात्र नभई भारतको आसाम र बंगलादेशमा समेत प्रसिद्ध छ ।

कटिया बनाउँदा चाहिने सामग्रीः

ताजा डाइस काटेको खसीको मासु आधा किलोग्राम, प्याज डाइस काटेको १५० ग्राम, अदुवा लसुन पेस्ट डेढ चिया चम्चा, तोरीको तेल ४० एमएल, नून स्वाद अनुसार, बेसार आधा चिया चम्चा, जिराको धुलो १ चिया चम्चा, धनियाँको धुलो डेढ चिया चम्चा, खुर्सानीको धुलो १ चिया चम्चा, तेजपात २ पिस, मिक्स गरम मसलाको दाना ७ ग्राम, मिक्स गरम मसलाको धुलो आधा चिया चम्चा, सुकेको खुर्सानी २ पिस ।

कटिया बनाउने विधिः

कटिया बनाउन एक किसिमको स्पेसल माटोको भाडो हुन्छ । जसमा बिर्को अनिवार्य हुन्छ । कटिया पकाउनुभन्दा आधा घण्टा अगाडि माटोको भाडोलाई पानीमा भिजाएर राख्नुपर्छ र मासुलाई पनि सम्पूर्ण मसला, नून, बेसार, अदुवा, लसुन, प्याज हालेर तोरीको तेल धुवा आउने गरी तताएर मासुमा झानेर आधा घण्टा अगाडि नै मोलेर राख्नुपर्छ । भिजाएको माटोको भाडोमा खाँदेर मिलाउनुपर्छ ।

आधा किलोग्राम मासु २ वटा माटोको भाडोमा अटाउनुपर्छ र यो २ वटा अडरका लागि पुग्छ । यसरी माटोको भाडोमा खादेर मोलेको मासु हाल्दा बिर्को लगाउन मिल्ने गरी अलि कम हाल्नुपर्छ । सम्पूर्ण रूपमा तयार हुनासाथ पूर्व तयारी अवस्थामा बालेर राखेको आगोको भुंग्रोमा राखेर एक घण्टा आरामसँग पकाउने ।

एक घन्टापछि यो तयार हुनासाथ तातो–तातो भुजा सेट वा चिउराका साथ खान सकिन्छ । कटिया निकै स्वादिष्ट परिकार हो । आगोको भुंग्रो या चारकोल नहुने ठाउँमा चुलोमा पनि पकाउन सकिन्छ ।

#दि सोल्टी काठ​मान्डौमा ‘सुसेफ’को रूपमा कार्यरत बुढाथोकी पाककला र सन्तुलित आहारका विषयमा कलम चलाउँछन्।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल "राष्ट्रप्रेमी" कास्की । लिडरसिप एकेडेमी नेपाल द्वारा आयोजित दुईदिने अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रम पोखरामा सम्पन्न भएको छ…

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

प्रतिकृयाहरू
...