Friday 14th August 2026

साउदीमा नेपाली श्रमिकका समस्याहरु धेरै, हप्ताको एउटा उडान अत्याबश्यक-महामहिम राजदूत


तीतोपाटी डटकम-काठमाडौं। साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र प्रसाद सिंह राजपुतले उडान प्रतिबन्ध लम्बिदा नेपाली श्रमिकलाई समस्या थपिएको बताएका छन्।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको एक महिना बितिसकेको छ। लामो समय बितिसक्दा पनि साउदीको लागि कुनै वैकल्पिक व्यवस्था नहुँदा समस्या थप बल्झिएको उनको भनाइ छ।

राजदूत राजपुतका अनुसार उडान ठप्प हुँदा साउदीमा रोजगारी गुमाएका, भिसाको म्याद सकिएका, अवैधानिक हैसियतमा भइ जरिवाना तिरेर फर्किन लागेका नेपाली प्रभावित भएका छन्। केही शव पनि अड्किएको अवस्था छ।

उनले आफूले साउदीको समस्या नेपाल सरकारसँग राखेको र कम्तीमा एउटा भए पनि उडान सूचारु गरिदिन आग्रह गरेको बताए।

‘अहिलेसम्म काठमाडौंबाट साउदीको उडान लागि कुनै व्यवस्था भएको छैन,’ उनले गुनासो पोखे, ‘घर फर्किन नपाएर फसेका श्रमिकले प्रेसर दिन थालेका छन्। दूतावासमा दिन प्रतिदिन यस्ता गुनासो बढ्न थालेको छ।’

राजदूत राजपुतले प्रवास खबरसँगको टेलिफोन सम्पर्कमा कम्तीमा एउटा उडान साउदीका लागि हुने हो भने तत्कालको समस्या टर्ने बताए।

राजदूत स्वयमको पनि कार्यकाल पूरा भइसकेको छ। सरकारले हालै साउदीको लागि नयाँ राजदूतमा मेराज मुसलमानलाई नियुक्त गरेको थियो। उडान बन्द हुँदा नयाँ राजदूत कार्यभार सम्हाल जान पाएका छैनन् भने कार्यकाल सकिए पनि राजपुत उतै अडकिएका छन्।

‘म आफै पनि श्रमिकसँगै उडानको पर्खाइमा छु,’ उनले भने।

सरकारले साउदीको छिमेकी देश कतारको लागि हप्तामा दुई वटा नियमत उडानको अनुमति दिइसकेको छ। तर, साउदीको हकमा हालसम्म निर्णय भएको छैन।

साउदीमा रहेका नेपालीका लागि विकल्पको रुपमा दोहा ट्रान्जिट त छ। तर, यो निकै झन्झटिलो र खर्चिलो विकल्प हो। उडानको लागि सिट पाइने सम्भावना पनि न्युन रहन्छ। रोजगारी गुमाएर आम्दानीविहीन भएका नेपालीको महंगो टिकट खरिद गर्ने सामथ्र्य पनि छैन।

साभार-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

पछिल्लो २४ घण्टामा रुस–युक्रेन मोर्चामा २२२ वटा भिडन्त भएका छन्। सबैभन्दा बढी आक्रमण कोस्त्यान्तिनिभ्का क्षेत्रमा (२९ वटा) भएको युक्रेनी सेनाले…

प्रतिकृयाहरू
...