Friday 30th October 2026

काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि


तितोपाटी- काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो।

उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते पुष्टि भएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए।

उनका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरेको छ।

उक्त क्षेत्रबाट ५३५ टर्की, ४९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, १७८ अण्डा र ९०० किलो दाना नष्ट गरिएको थियो। पशुपंक्षी मन्त्रालयले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ। यस्तै फार्म परिसरमा जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्न, पंक्षीपालक कृषकहरुले फार्म परिसरमा नियमितरूपमा निःसङ्क्रमण गर्न तथा सफाइमा ध्यान दिन, घरपालुवा पंक्षीलाई जङ्गली पंक्षीहरुको सम्पर्कमा आउन नदिन, हाँस तथा कुखुरालगायतका पंक्षीलाई थुनेर पाल्न तथा पशुपक्षी बिक्री स्थलमा अस्वाभाविकरूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा विभागमा सूचना गर्न आग्रह गरिएको छ।

यसअघि काठमाडौँको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिकाएका स्थानीय कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो।


सम्बन्धित शीर्षकहरु

सल्यान जिल्लामा शुक्रबार साँझ भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शारदा नगरपालिका–१…

भुटानको उत्तरी हिमाली क्षेत्रमा रहेको शिन्टाफु (Shintaphu) हिमताल फुटेपछि आएको आकस्मिक बाढीले गासा छाचु (Gasa Tshachu) नामक प्रसिद्ध प्राकृतिक तातोपानी…

मध्यपूर्वमा जारी तनावबीच हर्मुज जलडमरूमध्य वरपरका समुद्री क्षेत्रमा शुक्रबार नयाँ घटनाक्रम देखिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) नौसेनाले…

प्रतिकृयाहरू
...