Wednesday 26th August 2026

नयाँ सरकार गठनका लागि दलहरूको छलफल तीव्र, माओवादीले बोलायो स्थायी कमिटी बैठक


तितोपाटी- राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि दलहरूले आन्तरिक परामर्शलाई तीव्रता दिएका छन् ।

शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले राष्ट्रपतिको आह्वान संविधानको मर्म विपरीत रहेको निष्कर्ष निकालेको छ । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले राजीनामा नदिइकन अर्को प्रधानमन्त्रीको खोजी गर्दै समय तोक्नु संविधानको मर्म विपरीत ठहर गरेको सह-महामन्त्री प्रकाशशरण महतले बताए ।
कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताका लागि विपक्षी गठनबन्धनसँग छलफल गरिरहेको छ । उसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले नेता माधवकुमार नेपालसँग परामर्श गरिरहेको हो । सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा परामर्श जारी छ ।
यता माओवादी केन्द्रले पनि समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल गर्न १ बजे स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नयाँ सरकार गठनका सम्भावना र विपक्षी गठबन्धनका रणनीतिबारे छलफल हुने स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए ।
यता जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षधरले आफ्ना सांसदहरूसँग परामर्श गरिरहेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उनीहरूबीच छलफल जारी छ । प्रधानमन्त्री ओलीले संविधान संशोधनको लागि कार्यदल बनाएको र नागरिकता सम्बन्धी अध्यादेश पनि ल्याएकाले ओलीलाई समर्थन गर्नुपर्ने पक्षमा त्यस समूह छ ।
ठाकुर र महतो प्रधानमन्त्री ओलीसँगै बिहीबार राति ११ बजे राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

टर्कीले करिब १,५०० किलोमिटर दूरीसम्म मार हान्न सक्ने ‘Tayfun Block-4’ ब्यालिस्टिक मिसाइल विकास गरेको टर्किस सञ्चारमाध्यमले जनाएका छन्। यसको दायराभित्र…

प्रतिकृयाहरू
...