Saturday 10th October 2026

कोरोनाले सप्तकोसी नगरपालिकाकी उपमेयर चौधरीको निधन


तीतोपाटी डटकम-कोरोना संक्रमणका कारण सप्तरीमा सोमबारयता आठ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरी पनि छिन् ।

विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । उनी नेकपा एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् ।

सप्तकोसी–५ का वडाध्यक्ष दीपक लेखीका अनुसार संक्रमण देखिएपछि चौधरीलाई १० दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवतीसमेत थिइन् । उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको अस्पताललाई उद्धृत गर्दै वडाध्यक्ष लेखीले बताए ।

‘घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो,’ उनले भने, ‘त्यसपछि स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उपचारका लागि विराटनगर अस्पताल लगिएको थियो ।’

यस्तै गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार पाँच जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी सूर्यकान्त झाका अनुसार राजविराज नगरपालिका–१ र ७ का एक–एक जना, विष्णुपुर गाउँपालिकाका एक जना, बोदेवरसाइन नगरपालिकाका एक जना र बर्दिवास घर भई राजविराज बस्दै आएकी एक महिलाको मृत्यु भएको छ ।

सोमबारै सप्तरीको कञ्चनरूप नगरपालिकामा दुई संक्रमितको मृत्यु भएको उक्त नगरपालिकाका स्वास्थ्य सह–संयोजक डम्बर गुप्ताले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ ।
साभार-ईकान्तिपुर


सम्बन्धित शीर्षकहरु

विपद्मा बेपत्ता भएकालाई सरकारले मृत्यु घोषणा गर्न सक्ने, राष्ट्रपतिबाट अध्यादेश जारी राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद् सम्बन्धी केही नेपाल ऐन संशोधन…

अबुधाबी, अक्टोबर १०। संयुक्त अरब इमिरेट्सको सरकारी वकिल कार्यालयले दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाईदुबईको उडान एफजेड१०७३ मा भएको घटनाबारे…

रुसको प्रमुख प्रविधि कम्पनी यान्डेक्स (Yandex) ले युक्रेनी ड्रोन आक्रमणका कारण आफ्ना दुई डेटा सेन्टरमा क्षति पुगेपछि सेवा सञ्चालनमा समस्या…

प्रतिकृयाहरू
...