Wednesday 29th April 2026

मृतकको नक्कली नागरिकता बनाई जग्गा किनबेच गर्ने गिरोहका १० जना समातिए


तितोपाटी- मृतकको नाममा नक्कली नागरिकता बनाएर जग्गा किनबेच गर्न खोज्ने १० जनाको गिरोहलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

झापा विर्तामोडका मृतक टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उक्त समूहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
यसरी पक्राउ पर्नेमा झापा बाह्रदशी–३ का ३९ वर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ वर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० वर्षीय लीलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ वर्षीय बलराम विश्वकर्मा, झापा शिवसताक्षी ८ का ४२ वर्षीय भुपदेव कटुवाल रहेका छन् ।
यस्तै, झापा अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, झापा विर्तामोड ४ का ३४ वर्षीय गोविन्द वान्तवा, विर्तामोड १० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, विर्तामोड ४ की ३३ वर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।
सो समूहले झापा विर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पूर्व–पश्चिम राजमार्गमा जोडिएको मृतक बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको थियो ।
जग्गा ठगी गर्नको लागि देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बस्नेत बनाई उनको नक्कली नागरिकतासमेत बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उक्त नागरिकताका आधारमा २८ असोज २०७७ मा काठमाडौं जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेसनामा समेत बनाएका थिए । त्यही वारेसनामामार्फत झापा बिर्तामोड–४ की रञ्जु राईको नाममा २१ माघ २०७७ मा राजीनामा पास गरेको घटनाको विषयमा इलाका प्रहरी कार्याल्य अनारमनी झापामा उजुरी परेको थियो ।
उजुरी परेसँगै प्रदेश- १ प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेकामध्ये १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
ठगी धन्दामा अन्य सरकारी निकायका प्रतिनिधिहरूको समेतको संलग्नता तथा पहिचान भई फरार रहेको बताइएको छ । उनीहरूको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेकाहरूविरुद्ध ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
-शिलापत्रबाट


सम्बन्धित शीर्षकहरु

विश्वको प्रमुख तेल उत्पादक राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)ले आगामी मे १ देखि ‘ओपेक’ र ‘ओपेक प्लस’ दुवै संगठनबाट बाहिरिने…

जेनजी मुभमेन्ट नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाउँदै प्रस्तुत अध्यादेश अस्वीकृत गर्न आग्रह गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहले राष्ट्रपति…

तितोपाटी-  नेपाली कांग्रेसका एक समूहले  धुम्बाराहीको स्मार्ट होटलमा भेला आयोजना गर्यो । देउवा पक्षीय नेताको उक्त  भेलामा समसामयिक घटनाक्रमको ब्रिफिङ…

प्रतिकृयाहरू
...