Friday 19th June 2026

६४ प्रतिशत म्यानपावरले एक जना पनि कामदार पठाएनन्, युवाले रोजगारी र सरकारले राजस्व गुमायो


तितोपाटी- चालू आर्थिक बर्षको नौ महिनाको अवधिमा करीव ९० हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको चैत ६ गतेसम्मको प्रगति विवरण अनुसार ८९ हजार ७ सय ४५ जना नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।

त्यसमा संस्थागत अर्थात म्यानपावर कम्पनी र व्यक्तिगत नयाँ भिसामा वैदेशिक रोजगारीमा जाने कामदारहरको संख्या एक तिहायी भन्दा केहीबढी अर्थात ३२ हजार ८५ जना रहेका छन् । त्यसमध्ये म्यानपावर कम्पनीहरु मार्फत २९ हजार ९७ जना कामदार उडेका छन् । व्यक्तिगत प्रयासमा आएका भिसामा जाने कामदारहरुको संख्या २ हजार ९ सय ८८ रहेको छ । पुनः श्रम स्वीकृति लिएर जाने कामदाहरुको संख्या ५४ हजार ४ सय १५ रहेको छ ।

गतवर्ष चैत ११ गतेबाट लकडाउन भए पनि वैदेशिक रोजगार त्यसअघि नै फागुन ३० गतेबाट बन्द भएको थियो । सरकारले चार महिनापछि गत असार १४ गने वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको हो । तर विदेशस्थित अधिकांश नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगर्दा नेपाल आउने कामदारको डिमाण्ड घटेको हो ।

युएई लगायतका देशले सरकारको निर्णय लगत्तै मागपत्र प्रमाणीकरण शुरु गरे पनि साउदी अरबस्थित नेपाली दूतावासले नेपाल आउने कामदारको मागपत्र प्रमामीकरण नै शुरु नगर्दा नेपाली युवायुवतीको रोजगारको अवसर गुम्नुका साथै नेपाल आउने राजस्व समेतमा नोक्सानी भएको छ । साउदी अरबस्थित नेपाली दूतावासले नयाँ वर्ष सन् २०२१ को जनवरी पछिमात्र फाट्ट फुट्ट रुपमा मागपत्र प्रमाणीकरण शुरु गरेको हो । मलेसियाबाट अझै डिमाण्ड आउन सकेको छैन ।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा बहराइन, साईप्रस, जापान, कुवेत, मरिसस, ओमन, कतार, रोमानिया, साउदी अरेबिया र युएई गरी ११ मुलुकका लागि जम्मा २६ हजार १४ जनाको पूर्व स्वीकृति भएको जनाएको छ ।

त्यसमा अधिकांश डिमाण्डहरु कतारबाट आएका छन् । डिमाण्ड कम हुँदा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनीहरु मध्ये फागुन महिनामा ३ सय ३० म्यानपावर कम्पनीहरुले मात्र बैदेशिक रोजगारीमा कामदार पठाउन पाएका छन् । ५ सय ५१ अर्थात करीब ६४ प्रतिशत म्यानपावर कम्पनीले फागुनमा एक जना पनि कामदार पठाउन पाएनन् । कामदार पठाएका मध्ये दश वटा म्यानपावर कम्पनीले मात्र एक सय बढी कामदार पठाएका छन् । वाँकी ३ सय २० म्यानपावर कम्पनीले एक सय भन्दा थोरै कामदार पठाएका छन् ।

वैदेशिक रोजगार ऐन र नियमावलीले म्यानपावर कम्पनीको इजाजत नवीकरणका लागि वार्षिक कम्तीमा एक सय जना कामदार पठाएको हुनुपर्ने व्यवस्था गरेको छ । गतबर्ष कोरोनाका कारण कामदार पठाउन नपाएका म्यानपावर कम्पनीले यसबर्ष थप एक सय जना कामदार पठाउनु पर्ने शर्तमा नवीकरण हुन पाएका थिए । तर प्रमुख श्रम गन्तव्य मलेसियाको रोजगारी पूर्ण रुपमा बन्द भएको र खाडी मुलुकका अधिकांश नेपाली दूतावासहरुले समयमा मागपत्र प्रमाणीकरण गरी नपठाउँदा चाहेर पनि कामदार पठाउन नसकेको वैदेशिक रोजगार व्यवसायीहरु बताउँछन् ।-मध्यान्ह न्युजबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...