Saturday 16th May 2026

पोखरा–जोमसोम उडान एकवर्षपछि सुचारु


तितोपाटी- कोरोना भाइरस संक्रमणको त्रासले मुलुक नै लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झन्डै एकवर्षपछि सुचारु भएको छ । लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै पोखरा–जोमसोम रुटमा हवाई सेवा सुचारु हुन सकेको थिएन ।

तर, पछिल्लो समय आन्तरिक यात्रु बढ्न थालेको र केही भारतीय तीर्थयात्री पनि आउन थालेकोले उडान सुरु गरेको एयरलाइन्सले बताएका छन् । शनिबार समिट एयरले पोखरा–जोमसोम रुटमा दुईवटा उडान गरेको पोखरास्थित स्टेशन म्यानेजर पोषणमणि त्रिपाठीले बताए । उनका अनुसार लकडाउनपछि शनिबारदेखि उडान सुरु भएको हो ।

‘लकडाउन सुरु भएपछि केही महिना हवाई उडान पुरै ठप्प भयो । महिनौपछि हवाई उडान खुलेपनि पोखरा–जोमसोम रुटमा यात्रु थिएनन्,’त्रिपाठीले भने, ‘अब यात्रु पाउने अपेक्षा छ । पहिलो दिनमै दुईवटा उडान हुँदा पूर्ण क्षमतामा यात्रु आउजाउ गरेका छन् ।’ उनका अनुसार समिटिले यो सिजनमा दैनिक पाँचवटासम्म उडान गर्ने योजना बनाएको छ । अघिल्लो वर्ष दैनिक ८–९ वटासम्म उडान गरेको उनले बताए ।

‘बोर्डर खुल्ने र भारतीय पाहुना आउन पाउने हो भने पोखरा–जोमसोम रुटमा यात्रु अभाव हुँदैन । तर बोर्डर नखुलिसकेकोले प्रयाप्त भारतीय आउने अवस्था छैन,’ उनले भने, ‘यो बेला प्रयाप्त भारतीय तीर्थयात्री आउने गरेका थिए । ती सबै तीर्थयात्री मुक्तिनाथ मन्दिर दर्शन गर्न जानेगरि आउने गर्छन ।’ मुक्तिनाथ दर्शन गर्न जाने भारतीय तीर्थयात्रीकै कारण पोखरा–जोमसोम रुटको उडान निकै नै चल्तीको मध्येमा पर्दथ्यो ।

समिटले पोखरा–जोमसोम उडानका लागि १८ सिट क्षमताको एउटा जहाज पोखरामै राखिरहने जनाएको छ । ‘पहिलो दिन दुईवटा उडान भए । तीनवटा उडानको तयारी भएपनि मौसम अनुकुल नहँुदा तेश्रो उडान हुन पाएन,’ उनले भने, ‘शनिबारका लागि दुईवटा उडानको तयारी छ ।’

आइतबारदेखि अर्काे निजी हवाई कम्पनि तारा एयरले पनि पोखरा–जोमसोम रुटमा उडान गर्ने तयारी गरेको छ । तारा एयरका प्रवक्ता सुर्दशन बर्ताैलाले पनि पोखरा जोमसोम उडानको तयारी भएको बताए । तारा एयरले पनि पोखरामै जहाज राखेर नियमित उडान गर्ने तयारी थालेको छ । ‘सुरुमा एउटा उडान हुन्छ । यात्रु बढ्दै गएमा उडान थप्न हामीलाई अप्ठेरो छैन,’ उनले भने । ताराले पनि १८ सिट क्षमताको जहाजबाट पोखरा–जोमसोम रुटमा उडान गर्ने तयारी थालेको छ ।

गर्मि छल्न र मुक्तिनाथ दर्शन गर्न यो बेला भारतीयको पोखरामा भीड लाग्ने गर्दथ्यो । तर यो पटक कोरोना भाइरस संक्रमणका कारण भारतीय पाहुनालाई सहजै नेपाल प्रवेश दिनेगरि नाका खुलेको छैन । नाका खुलेर पाहुना आउन सहज भएमा दिनमा पाँचवटासम्म उडान गर्ने तयारी ताराको पनि रहेको छ ।

‘भारतीय आउन सहज हुनासाथ उडान संख्या नथपि सुख्खै छैन । भारतीय आउनासाथ उडान थपिन्छन,’ ताराका एकजना पदाधिकारील भने, ‘पोखरा–जोमसोम निकै नै चल्तीको हवाई रुट हो ।’ मुक्तिनाथ दर्शन गर्न जाने भारतीय तीर्थयात्रीकै कारण यो रुटमा कुनैबेला दिनमा दुइदर्जनसम्म उडान हुने गरेको थियो । अहिले स्थलमार्ग पनि सहज हुँदै गएकोले कतिपय यात्रु गाडीबाटै ओहोरदोहोर समेत गर्ने गरेका छन् ।साभार नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...