Sunday 1st November 2026

‘पदका लोभी दुई चार जनाले पार्टी छोडेर जाँदैमा कोही आत्तिनु पर्दैन’ : प्रधानमन्त्री ओली


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले पदका लोभी दुई / चार जनाले पार्टी छोडेर जाँदैमा कोही आत्तिनु नपर्ने बताएका छन् ।

पार्टीमा केही खराब मान्छेहरु आफैं हटेको ओलीको भनाइ थियो । आफूहरुले हटाएको नभई केही खराब व्यक्तिहरु आफैं पार्टी छोडेर गएकाले अहिले पार्टी थप बलियो भएको उनले बताए ।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो स्वार्थ बाहेक अरु केही नदेख्ने तत्वहरुले केही समय मानिसलाई भ्रममा पारेको तर भविष्यमा केही काम गर्न नसक्ने बताए । अहिलेका जनतालाई झुक्याउन कसैले पनि नसक्ने भन्दै ओलीले विप्लव लगायतका भूमिगत संगठनमा लागेकाहरु पनि सच्चिएर आउने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव समूहसँग लक्षित गर्दै आफैं अध्यक्ष बन्दै आफैं लड्डु खाँदै हिंडेको भन्दै व्यंग्य गरेका छन् । उनले सधैं हारेकाहरु नै अध्यक्ष बन्न खोजेको भन्दै जितेर अध्यक्ष बन्न प्रचण्ड माधव समूहलाई चुनौती पनि दिएका छन् ।

आफ्नो पहिलो सरकार पनि प्रचण्ड, माधव र झलनाथहरुले नै हटाएको आरोप ओलीले लगाएका छन् । अविश्वासको प्रस्ताव ल्याएर आफूलाई हटाउन पनि ओलीले उनीहरुलाई चुनौती दिए । प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूह अहिले प्रधानमन्त्री खोज्दै हिंडेको र आफ्नो क्षमता नभएकाले कांग्रेसको शरणमा पुगेको भन्दै गल्ती सच्याएर आए पार्टीमा उनीहरुको स्थान सुरक्षित राखिएको पनि बताए ।

यस्तै उनले कसैले आफूलाई आक्रमण गरे भने पनि त्यसलाई अनौठो नमान्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । सरकारले गरेका राम्रा कामहरुले कुनै पनि बेला आफूमाथि आक्रमण गर्न सक्ने भएकाले यदि कुनै दिन कसैले आफूलाई आक्रमण गरे भने पनि त्यसलाई अनौठो नमान्न उनले आग्रह गरेका हुन् ।

आफूले राखेको राष्ट्रिय संकल्पलाई मन नपराउनेहरुले गर्दा अहिलेको परिस्थिती उब्जिएको ओलीले बताए । सरकारले विकास निर्माणका कामहरुलाई द्रुतगतिमा अघि बढाएको बताउँदै ओलीले गरौं भने जे पनि हुने रहेछ भन्ने आफूले अनुभव गरेको पनि बताएका छन् ।

कुनै समय वर्षमा १० किलोमिटर सडक बन्ने गरेको तर अहिले दिनको ५.६ किलोमिटर कालोपत्रे सडक निर्माण हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले विरोधीहरुले सरकारका यस्तै राम्रा काम देखेर आफूमाथि आक्रमण गरेको आरोप लगाए ।

बरु प्रमुख प्रतिपक्षी दलले सरकारलाई सहयोग गरेको तर आफ्नै नेताहरुले काम गर्न नदिएको ओलीले बताए । पार्टी र सरकार अहिले ठीक ढंगले अघि बढेको पनि ओलीको भनाइ थियो ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...