Thursday 25th April 2024

नेपालमा पहिलो पटक कोरोनाविरुद्ध खोप प्रयोगको अनुमति


तितोपाटी- औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। अक्सफोर्ड, एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो बनेको छ। यही खोप भारतमा शनिबार (आज) देखि लगाउन शुरु गरिँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न बाटो खुलेको बताए। ‘नेपालको लागि अनुमति पाएको यो पहिलो खोप हो। यससँगै प्रयोग गर्ने बाटो खुलेको छ। यो खुशीको कुरा हो’, प्रवक्ता डा. गौतमले भने, ‘भारतबाट खोप उपलब्ध भएपछि तुरुन्तै खोप दिने कार्य शुरु हुन्छ।’

यो खोप नेपालमा भण्डारण गर्न उपयुक्त रहेको उनले जनाए। उनका अनुसार यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। यस्तै, झन्डै २० प्रतिशत नागरिकका लागि कोभिसिल्ड भण्डारण गर्न सकिने पूर्वाधार रहेको उनले बताए।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार नेपालमा २ देखि ८ डिग्री र माइनस २० डिग्रीमा भण्डारण हुने खोपका लागि पूर्वाधार व्यवस्था छ। अहिलेको खोपलाई आपत्कालीन प्रयोगका लागि अस्थायी अनुमति दिइएकाले सशर्त भनिएको शाखा प्रमुख डा. गौतमले बताए।

मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृत भएको खोप खरिद गरि प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । औषधि व्यवस्था विभागले खोप दर्ताका लागि आह्वान गरिसकेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले एउटै मुलुक वा कम्पनीबाट मात्र खोप ल्याउने योजना नरहेको जानकारी दिए। ‘जताततै (अन्य मुलुकमा) प्रयास गरिएको छ। एउटै मुलुकबाट वा कम्पनीको मात्र खोप हुने जस्तो छैन’, उनले भने, ‘कसैले सबै नागरिकलाई पुग्ने गरी दियो भने झन् राम्रो। त्यसो हुन नसके विभिन्न कम्पनीको भए पनि खोप लगाउनु पर्छ।’ एउटै कम्पनीको उत्पादनले सबै नेपालीलाई नपुग्ने भएकोले विभिन्न मुलुकबाट ल्याउने योजना रहेको उनले सुनाए।अन्नपूर्णबाट


सम्बन्धित शीर्षकहरु

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

नेपाली कथानक चलचित्र “महाजात्रा” यहि २५ अप्रिल २०२४ बिहीबारबाट कुवेतमा प्रदर्शनमा आउने भएको छ। कुवेत फाहाहिल स्थित आजीएल मलमा रहेको…

नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ । कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय…

प्रतिकृयाहरू
...