Thursday 27th August 2026

नेपालमा पहिलो पटक कोरोनाविरुद्ध खोप प्रयोगको अनुमति


तितोपाटी- औषधि व्यवस्था विभागले सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। अक्सफोर्ड, एस्ट्राजेनेकासँग मिलेर बनाएको उक्त खोप नेपालमा प्रयोगको अनुमति पाउने पहिलो बनेको छ। यही खोप भारतमा शनिबार (आज) देखि लगाउन शुरु गरिँदैछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न बाटो खुलेको बताए। ‘नेपालको लागि अनुमति पाएको यो पहिलो खोप हो। यससँगै प्रयोग गर्ने बाटो खुलेको छ। यो खुशीको कुरा हो’, प्रवक्ता डा. गौतमले भने, ‘भारतबाट खोप उपलब्ध भएपछि तुरुन्तै खोप दिने कार्य शुरु हुन्छ।’

यो खोप नेपालमा भण्डारण गर्न उपयुक्त रहेको उनले जनाए। उनका अनुसार यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। यस्तै, झन्डै २० प्रतिशत नागरिकका लागि कोभिसिल्ड भण्डारण गर्न सकिने पूर्वाधार रहेको उनले बताए।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमका अनुसार नेपालमा २ देखि ८ डिग्री र माइनस २० डिग्रीमा भण्डारण हुने खोपका लागि पूर्वाधार व्यवस्था छ। अहिलेको खोपलाई आपत्कालीन प्रयोगका लागि अस्थायी अनुमति दिइएकाले सशर्त भनिएको शाखा प्रमुख डा. गौतमले बताए।

मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृत भएको खोप खरिद गरि प्राथमिकताका आधारमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । औषधि व्यवस्था विभागले खोप दर्ताका लागि आह्वान गरिसकेको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले एउटै मुलुक वा कम्पनीबाट मात्र खोप ल्याउने योजना नरहेको जानकारी दिए। ‘जताततै (अन्य मुलुकमा) प्रयास गरिएको छ। एउटै मुलुकबाट वा कम्पनीको मात्र खोप हुने जस्तो छैन’, उनले भने, ‘कसैले सबै नागरिकलाई पुग्ने गरी दियो भने झन् राम्रो। त्यसो हुन नसके विभिन्न कम्पनीको भए पनि खोप लगाउनु पर्छ।’ एउटै कम्पनीको उत्पादनले सबै नेपालीलाई नपुग्ने भएकोले विभिन्न मुलुकबाट ल्याउने योजना रहेको उनले सुनाए।अन्नपूर्णबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...