Friday 3rd May 2024

कोरोनाले भेटेका सबै मर्दैनन् तर उच्च सतर्कता जरुरी छ


तोयानाथ उपेक्षित – धेरै दिन भएको छैन कोरोनाले खाडी राष्ट्र हल्लाएको । एकाध दिनमा नै यसरी सन्त्रास फैलिएको छ की अब यहाँ कोरोनाको सुनामी नै आउने हो की भन्ने सम्मको अडकलबाजी हुन थालेको छ ।

कोरोनाको त्रास मानिसमा बुझेर जति छ नबुझेर झन त्यो भन्दा धेरै देखिन्छ । कुवेतमा ईरानी खबुस अर्थात एक प्रकारको रोटी मानिसहरुले जलाएको भन्ने समाचार पनि छ । यो त्रास बुझाईको कमीले भईरहेको प्रतिक्रिया हो । युक्रेनमा चीनबाट फिर्ता लगिएका आफ्ना नागरिकलाई विमानस्थलबाट क्वारेन्टाईन स्थलमा लादै गर्दा बाटोमा नै केही मानिसहरुको जमातले आगोका लोला फालेर उनीहरु सवार गाडी नै जलाएर सवैलाई मार्ने प्रयत्न गरे यो धेरै त्रासको परिणाम स्वरुप मानवियता नै गुमाएको स्थिति हो ।

साउदी अरबले मुश्लिमहरुको पवित्र स्थल मक्का र मदिनामा उमराह गर्न जानेहरुका लागि रोक लगाई दियो । यसरी नै ईरानले तेहरानको ठुलो मस्जिदमा हुने शुक्रवारको सामुहिक प्रार्थना गर्न रोक लगायो । यी प्रिभेन्टिभ अर्थात रोकथामका लागि अपनाईएका सचेतनामुलक कदम हुन । अहिले मध्यपुर्वमा भुसको आगो सरी कोरोना फैलिरहेको छ । एक साता अघिसम्म ढुक्कले बसेको कुवेत अहिले छटपटाईरहेको अवस्थामा छ । ईरानपछि सबैभन्दा धेरै कोरोना भाईरस संक्रमित देश कुवेत भएको छ । २७ फेब्रुअरी साँझसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या यहाँ ४३ पुगेको छ । ती सबैको स्वास्थ्य अवस्था राम्रो नै रहेको बताईएको छ । मुख्य कुरा त यी सबैजसो संक्रमित मानिसहरु ईरानबाट फर्कनेहरु नै हुन । यसर्थ कुवेतले ईरान, कोरिया र हङकङको हवाई सम्बन्ध स्थगित गरेको छ ।

यसरी नै कुवेत सरकारले सब सुपरमार्केट, अस्पताल र सार्वजनिक पेशा र उद्योगहरुलाई सतर्कता अपनाउन आदेश दिएको छ । आफु बँच्न र आफ्नो देश बचाउन सबैले सुरक्षाका उपाय अपनाउन भनिएको छ । सबै जस्तो सार्वजनिक सेवाका ठाउँहरुमा एन्टिब्याक्टेरिया केमिकलहरुको प्रयोग र त्यस्ता पदार्थद्धारा सफाई गर्न जोड दिइएको छ ।

फेस मास्कको काला बजारी गर्ने कयौं मेडिकल स्टोरहरुमा छापा मारेर बन्द गरिदिएको छ भने कयौ ठाउँमा फेस मास्क निःशुल्क वितरण गरिएको छ । यसरी नै आजै मात्र एउटा घरमा लुकाई रहेको फेस मास्कको ठुलो परिमाण बरामद गरेको छ । कुवेत सरकारले कुवेत सिटीबाट सय किलोमिटर टाढा खैरान भन्ने ठाउँमा संक्रमितलाई राख्न रिर्सोटहरुमा व्यवस्था गरेको छ । सडकमा गाडी कम गुड्न थालेका छन भने आफ्ना नागरिकहरुलाई अत्यावश्यक काम देखि बाहेकको अवस्थामा देश बाहिर यात्रा नगर्न भनेको छ ।

विश्व अर्थतन्त्र नै चौपट पार्ने खतरा रहेको कोरोना प्रकोप लुकाउँदा झन समस्या हुने र देखाउँदा त्रास बढ्ने दुवै प्रकारको चिन्ता सवै जसो सरकारमा छ तर यसबाट मुक्ति पाउन सहज भने छैन । यो एक प्रकारको रुढी हो । सामान्य रुघाखोकीको रुपमा देखिने हुँदा मानिसहरुमा डरलाग्दो त्रास छाउनु स्वभाविक नै हो । अहिले चीनमा विस्तारै कोरोना कम हुँदै गएको साथै एषिया र युरोपमा फैलदै गएको अवस्था छ । ईरानबाट ८ सय जति नागरिक कुवेतले ल्याउँदा यति ठुलो संख्यामा कसरी संक्रमित भए भन्ने चासो स्वभाविक हो । यसको मतलब यो हावाबाटै संक्रमण फैलदो रहेछ भन्ने हो । यदि यसै हो भने यसले दुनियालाई अझै धेरै सताउन सक्छ ।

तर यो त्रास फैलिए जस्तो खतरनाक रोग भने होईन । यसले करिब १ लाख मानिस संक्रमित हुदा ३ हजार जति लाइ लिएर जादै गर्दा मृत्युदर ३ प्रतिशत हुन आउछ । यो प्रचारमा आए जस्तो माहामारी भने होईन । यसलाई निको पार्ने औषधी पत्ता नलागि सक्दा पनि यतिको दरमा मानिस बाँच्न सक्नुलाई आशावादी भएर हेर्न सकिन्छ । खास गरेर ठण्डा मौसममा यसको प्रकोप धेरै फैलने भएको हुँदा गर्मी शुरु भएसँगै नियन्त्रणमा आउने विश्वास गरिएको छ । ३० देखि ३५ डिग्रीको तापक्रममा यसको असर कम रहने भएकाले अबको एक महिनासम्म यसबाट बच्न उच्च सतर्कता खाँचो हुन्छ ।

जहाँ जहाँ नेपाली कामदारहरु विश्वका विभिन्न देशहरुमा रहेका छन त्यो सँगै नेपाल सरकारले उच्च सतर्कता अपनाउन जरुरी छ । त्रासका कारण ठुलो संख्यामा नेपालीहरु घर फर्कनु स्वभाविक हो । तर संक्रमित मानिस फर्केको अवस्थामा त्यसको जोखिमले देशलाई कहाँ पुर्याउन सक्छ विचार गर्न जरुरी छ । युक्रेनमा जस्तो नेपाल आउँदा मारिने खतरा नरहला तर संक्रमण फैलने खतरा भने अवस्य हुन्छ ।

खाडी राष्ट्र मध्ये कुवेत पछि बहराईनमा कोरोनाको प्रकोप ज्यादा छ । यी दुवै देशमा गरी नेपाली कामदारको संख्या एक लाख पचास हजार भन्दा कम छैन । ओमानमा पनि कोरोना फैलदो छ । साउदी र कतार अहिले सम्म सुरक्षित छन ।


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - पाल्पा साहित्य समाजको आयोजनामा अग्रज साहित्यकार नलराज शास्त्री नेपालको सम्मान तथा साहित्यकार पुष्कर अथक रेग्मीद्वारा लिखित सेनकालीन…

दक्षिण चीनको क्वाङतोङ प्रान्तमा भारी वर्षाका कारण राष्ट्रिय राजमार्ग एस१२ को एक हिस्सा भत्किएको छ । पछिल्लो अपडेट अनुसार दुर्घटनामा…

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। ओटावामा…

प्रतिकृयाहरू
...