तोयानाथ उपेक्षित – अहिले कार्यकर्ता र शुभचिन्तकहरुका मनमा यस्ता प्रश्नहरु उठन थालेका छन, नेकपा किन बन्यो ? के का लागि बन्यो ? जे का लागि भनेर एकता भएको थियो त्यो मिसन पुरा भएको हो ? वा मिसन उत्तरार्धमा पुगेको हो ? अथवा फेल हुन लागेको हो ? के यो एकतालाई चिरस्थाई बन्न नदिन पुनरुत्थानवादी वा दक्षिणपन्थी शक्ति खतरा बनिरहेका हुन या अन्तर्राष्ट्रिय परिवेश ?
यी तमाम प्रश्नहरु सतही छैनन्, गहन र मननिय पनि छन । यदि एकतामा खटपटी शुरु भएको हो भने त्यो नेताहरुको महत्वकांक्षा, अहमता, गुटगत मनोबृती र आत्मा केन्द्रित सोचको उपज मात्र हो । नमिल्दाका बखत भएको तँ तँ म म मिल्दाका बखतमा जसले कोट्याउँछ त्यो सवै भन्दा तुच्छ बानी हो । यस्ता मानिस असल सम्बन्धका लायक कहिले पनि हुदैनन । हिजोको दिनमा भएका नराम्रा कुरा अघि सार्नु र होच्याउनु वा गिज्याउनु सम्बन्ध विगार्ने कोशिष नै हो । व्याक्तिका जीवनमा जस्तै राजनैतिक वा सामाजिक जीवनमा पनि यी कुरा त्यसरी नै लागु हुन्छन । जसको शुरुवात दोश्रो वा तेश्रो तहका नेकपाका नेताले गरिसकेका छन ।
अहिले नेकपाले कोहीसँग लड्न परेको छैन । कसैले यो वा त्यो शक्ति हामीलाई विभाजित गर्न लागि परेको छ भन्छ भने त्यो आफ्नो कमजोरी लुकाउने प्रयत्न भन्दा अरु केही होईन । नेकपाले गरेर देखाउने बेला हो कस्तै कुरा गरेर पन्छिने छुट यो सरकार वा त्यो पार्टीलाई छैन । पार्टी भित्र देखिएको बर्तमान सिनारियो उन्माद र कुण्ठाको देखिन्छ दुवै प्रकारको रसायन नेताहरुको गिद्धीमा उत्पादन भईरहेको छ । यस्तो हुनमा अहिले तीन वटा तत्कालिन कारणहरु परिदृष्यमा छाउन थालेका छन ।
सरकारले सुशासन कायम गर्दै लगेको साँचो हो । विगतसँग तुलना गरेर हेर्दा थाहा हुने कुरा हो । भ्रष्टाचारको नियन्त्रणको प्रयास बढेकै छ र विकासका पूर्वधारहरुको जग बसाउने कामले गति लिएकै छ । सरकारी काम र विकास निर्माणमा हुने ढिलासुस्तीका विरुद्ध एक्सनहरु हुन थालेको र गुणस्तरमा जनस्तरबाट जागरुकता जाग्न थालेको कुरा सरकारी क्रियाशिलताकै स्वरुप हुन । तर ती सवै ओझेलमा छन । नकरात्मकता मात्र बढेका छन । संघियताको कार्यन्वायनका जटिलताहरुलाई सहज कुरा र भएका प्रगतिहरुलाई आर्थिक सूचकांकहरूले देखाएका छन । नकरात्मकतामा मुलुक व्याक भएका एउटा पनि सुचांक छैनन तर पनि सरकार डगमगाई रहने गरेको छ । आलोचनाको असिना बर्षिरहने गरेको देखिएको छ । जति काम सरकारबाट भएको छ त्यति मात्र पनि सयौको संख्यामा रहेका केन्द्रका नेताले प्रचार वा व्याख्या गर्ने हो भने मुलुकमा आशाको लहर जाग्ने स्थिती बन्ने थियो तर यहाँ कृतिम निरासा वितरण भईरहेको छ । चरम असन्तुष्टि देखाइएको छ । सरकारले पार्टीबाट जुन तहमा पाउनु पर्ने आड र भरोसा हो त्यो पाएको देखिंदैन । विरोधीको धर्म त विरोध गर्ने हो उनीहरुको विरोधले मात्र सरकारलाई बाह हातको टांगाले छुदैनथ्यो तर नेकपा भित्रैबाट सरकार र पार्टीको हुर्मत काढ्ने काम भईदिदा अरुले मादल नबजाएर के गरुन । यो कुराको हेक्का सरकारको विरोध गर्ने नेता कार्यकर्ताहरुलाई नभएको हो की जानीबुझी कुण्ठा र तुष्टि पखालेको हो बहसको विषय हुन पर्दछ ।
एमसीसी प्रोजेक्टको ईन्ट्रि, सरकारको विगठन र गठनको उपयुक्त आधार र मापदण्ड नहुनु र जनयुद्ध दिवस मनाउने कुरामा सहमती नजुट्नु जस्ता तीनवटा कारणले अहिले नेकपाको संगठन विरोलिएको छ । एमसीसीले महराको राजनिती सिद्धयाई दिएको प्रचार जोडतोडले यहि पाटी पंक्तिमा हुने गर्दछ । महराको साँस्कृतिक र नैतिक विचलनलाई ढाकछोप अदालतले चोख्याएकै भरमा दुधले नुहाएका देख्ने र रक्ष्यानमा डुवेको ठान्ने बीच अव रस्साकसी नै हुनेवाला छ । स्याल कराउनु र बाख्रा हराउनुको दोष एमसीसी होईन । एमसीसीलाई राष्ट्रवादमा गाँसेर महरा फसाईएको भन्ने अदालतको विश्लेषण भएजस्तो गरी आएको फैसला पनि मान्ने कसरी? नमान्दा अपहेलना लाग्ला । महरा एमसीसी विरोधी थिएनन भन्ने कुरा त उनी स्वयंले भनिसकेको अवस्था छ भने अदालतको फैसला एउटा अनौठो प्रकारको अवाधिक नजिर बन्ने पक्का छ । अर्को व्यक्तिलाई महाराको हकमा आएको फैसला लागु हुनेछैन । अझ यसो भनौ एमसीसीको ढोका बन्द गर्ने र खोल्ने ल्याकत महरा एक्लैले राख्न सक्ने होईनन तर यसलाई नेकपा भित्रैबाट गलत सन्देश दिनेको कमी छैन । यो सर्वथा गलत कुरा हुनेछ ।
सरकारको काम कारवाहीमा आफै असन्तुष्ट भएका प्रम ले केही मन्त्रीहरुको बर्हिगमन र पुर्नगठनमा देखिएको सुझबुझ अपरिपक्क र विवेकको असन्तुलित प्रयोग भईदियो । उहाँले दवाव र प्रभावमा गरेको निर्णय थियो भन्ने सवैले बुझेकै छन । यसले प्रमको लोकप्रियतामा प्रश्न पक्कै उठाएको छ । जसले झनै असन्तुष्टि बढाएको अवस्था छ । निकाल्न नपर्ने मन्त्रीहरुलाई फौजी सरकारको शैलीमा अपदस्त गरेर अपमान मात्र गरिएन नालायक जस्तो बनाईयो भन्ने आरोप तितो सत्य हो । त्यो एकदमै गलत भएको थियो ।
भरखरै फाल्गुण १ गते सकिएको छ । यस्ता फाल्गुण १ गते अझै धेरै वर्ष आउछन । फागुण १ लाई सम्झने एउटै विधी र तरिका पार्टीले अपनाएन भने यो पनि नेकपा टुट्ने वा फुट्ने कारण भोलीका दिनमा बन्न सक्छ । एउटै पार्टी भित्र दुईवटा अलग थलग दृष्टिकोण अझै कायम छन भन्ने प्रष्ट छ यसलाई ठिक पार्न पर्दछ । नेकपामा सिद्धान्त, विचार र दृष्टिकोणमा एकता भएको छैन भन्ने सन्देस किन दिदैछन नेताहरु । अरुले आरोप लगाउदै जाने खेल्दै जाने अनि नेकपाका टप नेताहरु लालमोहर हान्दै हिड्ने गरेको देखिन्छ । यो त कृतिम एकता रहेछ भन्ने कुरा किन पुष्टि खोजिन्छ ? के अव एकै ठाउँ बस्न गाहो हुदै गएको हो । यदि यसो हो भने किन दुई पार्टी जवरजस्ती मिल्नु परो ? कार्यगत एकता गरेको भए पनि त सरकार बनाउन सकिन्थ्यो होला नी । कसले मिलायो यिनलाई र अचकल्टो पारेर छोडिंदैछ ? मन नमिली नमिली राखेको शारीरिक सम्बन्ध र गरेको संभोग त बलात्कार जस्तै हुन्छ । जनताको भवानामा नेताहरुले एकताको नाटक गरेर बलात्कार गरिरहन पाईन्छ ? दुई पार्टीलाई एक अर्काको ईतिहास, नेताहरुको पृष्ठभुमी सवै थाहा थियो त । नमिल्नु मिले पछि यसरी किस्ताबन्दीमा मिलेर कहिले टुंगो लाग्छ सम्बन्धको । यता टाल्यो उता भ्वाङ पर्ने हो भने यसले काम काट्दैन । अंगालो हाले पछि दिल खोलेर हाल्न सक्नु पर्दछ । पछाडी छुरा लुकाएर होईन । जनयुद्धले हालको गणतन्त्र र संघियताका लागि ठुलो भूमिका र योगदान गरेको छ भन्ने स्वीकार गरे पछि जनयुद्ध चाहीं मान्दिन भन्न कहाँ पाईन्छ ? यस्तो कुरा गरे राजनैतिक बेईमानी ठर्हछ । हिजो एकले अर्कालाई गाली गरेका कुरा संझेर मिल्न सकिंदैन । कति विर्सने कुरा हुन्छन तिनलाई भुल्न पर्दछ । नेकपाले यस सन्दर्भमा उपेन्द्र र बाबुरामको जोडीलाई हेरेर शिक्षा लिनु पर्दछ । गौर हत्याकाण्डमा मारिएका बाबुरामका चेलाचपेटा थिए मार्ने उपेन्द्रका । उनीहरुले भुले त । तर त्यो अपराध राज्यले चाहि नभुलोस ।
प्रम का प्रेस सल्लाहकारको अभिव्याक्ति पनि पार्टीको एकता भाड्ने खालको आउने गरेको छ । गुटको प्रतिनिधित्व गर्नेहरुलाई मुख्य जिम्मेवारीमा दिंदा यस्तो अवस्था आउंछ । जसरी उनले बोले उनको कुरा कदापी एकतालाई निरन्तर रुपमा अघि बढाउन मद्दत गर्दैन । उनले बोल्नु भनेको प्रम ले बोल्नु जस्तै हो । के जनयुद्धको विरोधमा त्यसरी सुर्य थापाले बोल्न मिल्छ ? बोलीमा लगाम नलगाउने हो भने नेकपा बालियो हुन्छ र ?