Tuesday 6th October 2026

सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षणसँग मिल्दाजुल्दा १ सय बढी बिरामी


तितोपाटी- सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका बिरामी भेटिएका छन् ।

संक्रमित भेटिएको स्थान चीनसँगको सीमानजिकै पर्छ । यद्यपि, चीनसँग आवतजावत गर्ने बाटो भने त्यहाँ छैन । गुम्बाबस्तीका करिब एक सय जनामा कोरोना भाइरसका बिरामीमा जस्तो लक्षण देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले जानकारी दिए ।
उनका अनुसार स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन । संक्रमित सबै बिरामी घरमै रहेको उनले जानकारी दिए ।

कोरोना संक्रमितमा जस्तो लक्षण बिरामीमा भेटिएपछि गाउँपालिकाले मंगलबार यसको पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । पत्रमा सोमबारबाट यस्ता बिरामी भेटिएकाले पहिचानमा सघाइदिन आग्रह गरिएको छ ।
माघ २३ गतेखि यो बस्तीमा फाट्टफुट्ट यस्ता बिरामी भेटिएपछि गाउँपालिकाको स्वास्थ्यकर्मीसहितको टोली जाँदा उनीहरूले औषधिले निको नभएको बताए । त्यसपछि पहिचान गरिदिनुप¥यो भनेर मन्त्रालय, जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयमा पत्र लेखेको प्रमुख प्रशासकीय अधिकृत बिकले भने । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा कोरोना भाइरसका संक्रमितमा जस्तो लक्षणका बिरामी भेटिएको हल्ला सुने पनि औपचारिक जानकारी भने नपाएको बताएको छ ।

सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो । यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै चीनसँग जोडिएको यहाँको तातोपानी नाका बन्द गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रधानमन्त्री बालेन्द्र शाहले देशभरका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार सक्रिय रूपमा अघि बढिरहेको बताएका छन्। सोमबार…

प्रतिकृयाहरू
...