Friday 11th September 2026

काम छोडेर गाउँपालिकाको जम्बो टोली विदेश भ्रमणमा


तितोपाटी- पर्साको पटेर्वासुगौली गाउँपालिका प्रमुख र पाँचवटै वडाका अध्यक्षलगायत १५ जनाको टोली गत पुस २ गतेदेखि १० दिने विदेश भ्रमणमा निस्किएको छ ।

भ्रमण टोलीमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा, लेखापाल, राजस्व तथा योजना फाँट, इन्जिनियर, सामाजिक विकास शाखाका कर्मचारी र कार्यापालिकामा मनोनित दुईजना सदस्य समेत सहभागी छन्। गाउँपालिकाका अनुसार गत पुस २ गते भ्रमणमा गएको टोली ११ गते फर्किने छन्।

गाउँपालिका प्रमुख हरिनारायण चौधरी, प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्र यादव, वडा नम्बर एकका अध्यक्ष फरमान मियाँ, वडा नम्बर दुईका अध्यक्ष विजय गैरे, वडा नम्बर तीनका अध्यक्ष माधव राउत थारु, वडा नम्बर चारका अध्यक्ष राजेश्वर महतो थारु, वडा नम्बर पाँचका अध्यक्ष मोतीलाल साहसहितको टोलीले थाइल्याण्ड, कम्बोडिया र सिंगापुरको भ्रमण गर्ने गाउँपालिका स्रोतले जनाएको छ।

कार्यपालिका सदस्यद्वय विपिन मुखिया विन, दिपक रसैली, लेखापाल विरेन्द्र साह तेली, राजस्व तथा योजना फाँटका विरेन्द्र चौधरी, शिक्षा शाखाका शम्भु साह, सामाजिक विकास शाखाका राजकुमार महतो र इन्जिनियरद्वय निर्मल सिंह, प्रदीप चौरसिया पनि टोलीमा छन्। गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत अधिकांश फाँटका कर्मचारी नहुँदा गाउँपालिका कार्यालय सुनसान छ। काम लिएर गाउँपालिका आएका सर्वसाधारण निराश भएर फर्किन बाध्य छन्।

पटेर्वासुगौली गाउँपालिका ५ निचुटा निवासी नागेन्द्र यादवले कर्मचारी नहुँदा गाउँपालिका कार्यालय एक सातादेखि सुनसान बनेको बताए। ‘पुस एकदेखि नै हुस्सु र कुहिरोले जाडो बढेको छ, विपन्न गरिबले आगो ताप्न दाउरा पाएका छैनन्,’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधि र हाकिम विदेश सयर गरिरहेका छन्। विदेश भ्रमण गर्नु गलत हैन, तर, यो उपयुक्त समय थिएन ।’

विदेश भ्रमणको क्रममा सोमबार थाइल्यान्ड रहेका पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विजय गैरेले यस सम्वाददातासँग फेसबुक म्यासेन्जरमा निजी खर्चमा भ्रमणमा आएको प्रतिक्रिया दिएका छन्। आर्थिक कारोबार बाहेकका सबै काम गर्ने गरी व्यवस्था मिलाएर हिडेका छौँ,’ उनले भने, ‘काम खासै प्रभावित भएको छैन्।’ उनका अनुसार अहिले गाउँपालिका सभाबाट पारित भएका विकास निर्माणका कार्यलाई अगाडि बढाउने समय हो। ‘यसै पनि ३ महिनादेखि नेपाल सरकारले खोलाजन्य पदार्थ उत्खननमा रोक लगाउँदा काम रोकिएका थिए,’ उनले भने, ‘ती योजनाहरुलाई तीव्रता दिने समयमा प्रमुख सबै कर्मचारी र वडा अध्यक्षहरु विदेश भ्रमणमा गएका छन्।’

गाउँपालिकाको निमित्तको कार्यभार पाएकी उपप्रमुख ममता चौधरीले कर्मचारी नहुँदा सबै काम प्रभावित भएको बताइन्। ‘निमित्त भएर पनि के गर्नु,’ कान्तिपुरसँग फोनमा चौधरीले भनिन्, ‘कर्मचारी भए पो काम गर्नु, सबै शाखाका प्रमुखलाई लिएर विदेश जानुभएको छ। सबै एकसाथ जाँदा काम प्रभावित भएको छ। उहाँहरु फर्किएपछि काम सुरु हुन्छ।’ विदेश भ्रमणबारे मात्र जानकारी भएको उनले प्रतिक्रिया दिइन्। ‘उद्देश्य र खर्चबारे मलाई खासै जानकारी छैन्,’ उनले भनिन्, ‘विदेश भ्रमणबारे मात्र जानकारी गराएका थिए।’ कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।


सम्बन्धित शीर्षकहरु

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको ९/११ आतंकवादी हमलाले विश्व सुरक्षा नीतिमा ठूलो परिवर्तन ल्यायो। करिब ३ हजार मानिसको…

प्रतिकृयाहरू
...