Saturday 4th May 2024

फेशबुकबाट जागिर खोज्दा घर न घाटको भईन आशा


इन्द्रसरा खड्का-आफ्नो बढ्दै गएको पेट हेर्दै टोलाइरहन्छिन् आशा (नाम परिवर्तन) । अविवाहित आशाको पेटमा कसैको बच्चा हुर्कंदैछ । बच्चालाई कसरी जन्म दिने, जन्मेपछि के गर्ने भन्ने चिन्ताले पिरोलिरहन्छ । उनले एक, दुई महिनासम्म त जसोतसो पेट लुकाइन् । तर पेट बढ्दै गएपछि समस्या भयो ।बढ्दै गएको पेट लुकाउनको लागि १९ वर्षकी आशा पहाडको घरबाट काठमाण्डौ आएको दुई महिना भयो । गत जेठमा गोरखाका कमल (नाम परिवर्तन)ले जागिर लगाइदिन्छु भन्दै आशालाई फकाएर भैरहवा लग्यो । काम लगाइदिने बहानामा आफैंसँग राखेर बलात्कार गर्‍यो ।प्रतिकार गर्दा आफू र आफ्नो परिवारको बदनाम हुने भन्दै आशा आफूमाथि भएको अत्याचार चुपचाप सहेर आफैं लुकेर बस्न बाध्य छिन् ।

घटना यसरी भयो

आशा कक्षा १२ मा पढ्छिन् । घरमा आमाबुवा, हजुरआमा र चार भाइबहिनी छन् । आमाबुवा खेतीकिसानीको काम गर्छन् । आशालाई पढ्दै जागिर गर्न मन लाग्यो । घरमा पैसा कमाउने कोही नहुँदा पैसाको अभाव थियो । उनी कामको खोजीमा लागिन् । काम गर्न मन त लाग्यो, तर कहाँ खोज्ने ?एकदिन आशाले फेसबुकमा जागिरको अवसर भन्ने सूचना देखिन् । ओरेन्ज नेटवर्किङ मार्केटिङ भन्ने संस्थाले अफिसमै बसेर अनलाइन काम गर्ने र उचित पारिश्रमिक दिने भन्ने सूचना थियो । त्यसपछि आशाले अनलाइनबाट आफ्नो मोबाइल नम्बरसहित आवेदन दिइन् ।

आवेदन दिएको तीन दिनपछि गएको पुसमा आशाको मोबाइलमा फोन आयो । फोन थियो, गोरखाका कमल तामाङको । उसले काममा लगाउने आश्वासन दियो ।कमलको फोनपछि आशाको आशा पलायो । उनले वैशाखमा कक्षा १२ को परीक्षा दिएर काम गर्न जाने योजना बनाइन् । आफूले काम पाएको कुरा आमाबाबुलाई पनि सुनाइन् । आमाबुवाले पनि काम राम्रो छ भने गरे हुन्छ भनेर स्वीकृति दिए ।

आशाले कमलसँग बुझ्दा ओरेन्ज नेटवर्किङ मार्केटिङको मुख्य कार्यालय भारतको चेन्नई र नेपालको शाखा चाहिँ झापामा रहेछ । गएको पुसदेखि कमल र आशाको दिनहुँ फोनमा कुरा हुँदै गयो । त्यसपछि उनीहरु फेसबुकमा जोडिए । कहिले फेसबुक, कहिले फोनमा कुरा हुँदै जाँदा उनीहरु नजिकिए । वैशाखमा कक्षा १२ को परीक्षा दिएपछि आशा काम गर्न जान तयार भइन् । आशाले जानुपर्ने भैरहवा थियो । तर कहाँबाट जाने भन्ने उनलाई थाहा थिएन । आशालाई लिन भन्दै कमल आफैं भैरहवाबाट मलेखु पुग्यो ।

जेठ ५ गते बिहान ९ बजे आशा मलेखु पुगिन् । त्यहाँ कमलसँग भेट भयो । उनीहरु साँझ करिब ५ बजेतिर भैरहवा पुगे । आशाको लागि भैरहवा नयाँ ठाउँ थियो । भैरहवाको कुन ठाउँ बसेका छौँ भन्ने समेत थाहा थिएन । कोठामा पुग्दा अरु १६ जना केटाकेटी थिए । सबैजना एक घरको पुरै फ्ल्याट लिएर बस्दा रहेछन् ।

भैरहवा पुगेको तीन दिनसम्म जागिरको कुरा भएन । आशाले काम के गर्नुपर्छ भनि सोध्दा कमलले कामको लागि पहिले तालिम लिनुपर्ने बताए । तालिम लिन ७ हजार रुपैयाँ चाहिने रहेछ । तर आशासँग पैसा थिएन । उनले घरमा पैसा पठाइदिन भनिन् । आशाका बुवाले ऋण गरेर १० हजार रुपैयाँ पठाइदिए । तालिममा मान्छेसँग पैसाको डिल गर्ने, नयाँ मान्छे कसरी बनाउने भन्नेबारे सिकाइयो ।काम गर्न भैरहवा पुगेकी आशाले बल्ल थाहा पाइन् कि मान्छे खोज्दै लगानी गर्न लगाउने काम रहेछ । त्यो काममा एकजनाले १० हजारदेखि, ३० हजार हुँदै एक लाख रुपैयाँसम्म लगानी गर्न पाउने र उसैले यस्तै दुईजना मान्छे खोजेबापत १८ हजारदेखि २२ हजारसम्म पाइने रहेछ ।आशालाई यो काम चित्त बुझेन । तर तालिममा बसेपछि एक महिनासम्म तालिम लिनुपर्ने भनेपछि बाध्यताले बस्नुपर्‍यो । तालिममा बस्दा कमलले जे भन्यो त्यही मान्नु पर्थ्यो । उसको अनुमतिबिना कसैसँग बोल्न, हाँस्न पनि पाईंदैनथियो ।

कमलले जेठ १७ गते आशालाई आफूसँगै कोठामा बस्न बोलायो । आशाले मानिनन् । कमलले धम्की दियो । ‘नचिनेको ठाउँमा केही गर्‍यो भने के गर्ने भन्ने डरले उसले जे भन्यो त्यही मान्नु पर्‍यो’ आशाले भनिन् । त्यसपछि कमलले आशालाई हरेक रात आफ्नै कोठामा बस्न बाध्य पार्न थाल्यो । उसको सामु आशाको केही चलेन, उसले जे जे भन्यो, त्यही मान्नुपर्ने भयो ।

२५ गते आशालाई अझै राम्रो तालिम लिन भारतको गोरखपुर लैजाने कुरा भयो । भारतमा गएर सिक्दा राम्रो पनि हुने र पैसा पनि बढी हुने भन्दै कमलले आफू पनि उतै गएर काम गर्ने बतायो । जेठ २५ गते बिहानै उनीहरु सुनौली नाका हुँदै भारत हिँडे ।नाकामा आशालाई माइती नेपालका प्रतिनिधिले सोधपुछ गरे । उनी अकमकाइन् । उनी अकमकाएको देखेपछि माइती नेपालका प्रतिनिधिले उनलाई पारी जान दिएनन् । बरु आमाबुवाको नम्बर मागे । आशाले बुवाको नम्बर दिइन् । उनीहरुले बुवालाई फोन गरेर छोरी लिन बोलाए ।

बिहान १० बजे माइती नेपालले राखेकी आशालाई लिन उनीसँगै बस्ने अर्का मदन नाम गरेका केटा गए । उनले आशा आफ्नै बहिनी भन्दै घरबाट आमाबुवाले फोन गरेर लिन आएको बताए । आशाले पनि आफ्नै दाइ भएको बताइन् । त्यसपछि माइती नेपालका प्रतिनिधिले उनीहरुलाई फर्काए ।एक महिनासम्म भैरहवा बसेपछि आशा असार २५ गते भागेर घर पुगिन् । आफूमाथि जबर्जस्ती भएकोबारे केही भनिनन् । काम आफूलाई चित्त नबुझेको मात्र भनिन् ।
घर फर्केपछि आशाको महिनावारी रोकियो । उनले यो कुरा कमललाई फोन गरेर भनिन् । तर उसले वास्ता गरेन । आशाको पेट बढ्दै गयो । दुब्लो शरीर भएकी आशालाई एक्कासी मोटो देख्दा गाउँलेले शंका गर्न थाले । छरछिमेकीले तेरोे छोरी हिजोआज फरक देखिंदैछ किन भनेर आशाकी आमासँग सोध्ने थाले । आमाले गाउँलेले शंका गर्दैछन् के हो भनेर सोध्दा आशाले आमालाई सत्य कुरा बताइन् ।

त्यसपछि आमाबुवा छाँगाबाट खसेजस्ता भए । छोरीलाई गाली गरे । तर गाली गरेर र चिन्ता गरेर मात्र केही हुने थिएन । गाउँलेले यो कुरा थाहा पाए बदनाम हुने भन्दै गर्भपतन गर्ने कुरा भयो । त्यसपछि आशा काठमाण्डौ आइन् ।आमा र फुपूले उनलाई गर्भपतन गराउन काठमाण्डौको एक अस्पतालमा पुर्‍याए । अस्पतालले ३० हजार रुपैयाँ लाग्ने, तर गर्भपतन गर्न गाह्रो हुने बतायो । ३० हजार रुपैयाँ नभएपछि उनीहरु त्यत्तिकै फर्के ।

त्यसपछि आशा एक्लै थापाथलीमा रहेको प्रसूति गृह पुगिन् । अस्पतालमा एकजना नर्ससँग आशाको कुरा भयो । उनले आफूमाथि भएका सबै घटना बेलिबिस्तार लगाइन् । आशाको कुरा सुनिसकेपछि नर्सले अस्पतालमा रहेको एकद्वार संकट व्यावस्थापन प्रणाली(ओसीएमसी) मा कुरा गरिन् ।त्यहाँका डाक्टरले २, ३ महिनाभन्दा बढीको गर्भ हुँदा गर्भपतन गर्न नसकिने बताए । त्यसपछि ७ महिनाको गर्भवती आशा निराश भएर फर्किन् । अहिले उनी काठमाण्डौको एक सुरक्षित आवास गृहमा बसिरहेकी छिन् ।

आफूलाई यस्तो अवस्थामा पुर्‍याउने कमल खुल्ला रुपमा निर्धक्क हिँडिरहेको र आफू यसरी लुकेर बस्नु परेकोमा उनलाई दुःख लागेको छ । ‘मलाई यो हालतमा पुर्‍याउने कमललाई जेलको हावा खुवाउन त मन थियो । तर उजुरी दिएमा अरुले थाहा पाउँछन्, फेरि मेरै बदनाम हुन्छ’ उनी भन्छिन् ।आफ्नो भन्दा पनि आमाबुवाको बद्नाम हुने डरले चुपचाप सहेर बस्नु परेको उनी बताउँछिन् । ‘आमाले छोरी काठमाण्डौमा जागिर गर्दैछ भनेर गाउँमा भन्नुभएको छ, म यहाँ यस्तो अवस्थामा छु’ आँखाभरी आँसु पार्दै आशाले भनिन् ।

आशालाई प्रहरीको सल्लाह : गोप्य रुपमा जाहेरी दिन मिल्छ

आशाको यस्तो हालत र बाध्यता सुनेपछि हामीले यसबारे महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापासँग कुरा गर्‍याैँ । उहाँले पीडितको अवस्थालाई मध्यनजर गर्दै प्रहरीले पीडकलाइ पक्राउ गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अपराध गर्ने मान्छेलाई त समाजसामु खुलेरै समाउन सकिन्छ, तर यौन हिंसाको केसमा पीडितसँगै पीडकको नाम ठेगाना पनि गोप्य राखिन्छ ।

अहिले अपराध शाखामा यस्तै खालका यौन हिंसाको उजुरी धेरै आउने गरेको उहाँले बताउनुभयो । यौनहिंसा पीडित महिला वा किशोरी आफ्नो र परिवारको बदनाम हुने डरले प्रहरीकोमा कम पुग्ने गरेको बताउँदै उहाँले अन्याय नसहन र उजुरी गर्न पनि आग्रह गर्नुभयो ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...