Saturday 21st March 2026

खै कसरी मनाउन सकिन्छ र दसैं ?


बालकृष्ण घिमिरे, बनेपा – काभ्रे – देशको बागडोर सम्हालेकाहरुले गर्वले हाम्रो मुलुक रेमिट्यान्सले चलिरहेकोछ भनी रहँदा त्यो रेमिट्यान्स पठाउनेहरुको परिवार र स्वयं बिदेशमा पसिना बगाउनेहरुको अवस्था कस्तो होला ? बुझ्ने फुर्सद र समय सम्वन्धित निकायहरुमा कार्यरत कसैलाई छैन | वाध्यताले घरदेश छाडेर परदेश पस्नेहरुको रगत पसिनामा रमाउने आदत भएकाहरुले गाेष्ठी, सेमिनार, सभा-सम्मेलनहरुमा जति नै खोके पनि स्वदेशमा योग्यता र क्षमता अनुसारको काम, काम अनुसारको दाम र गरिखानेहरुलाई उचित सम्मान दिलाउन अझैं वर्षौ सक्ने छैनन् ।
समय परिवर्तन भयो, व्यवस्था फेरियो तर फेरिएको व्यवस्था परिचालन गर्ने नेत्रृत्व पुरानै मानसिकता र सोचबाट परिवर्तन हुन सकेन। फलस्वरुप परदेशमा पसिना बगाएर आर्थिक रुपमा घर परिवारलाई मात्रै हैन देशै धान्ने रेमिट्यान्स (रकम) स्वदेश पठाउने नेपालीहरुले सुरक्षित र मर्यादित भएर काम गर्ने बातावरण बनेन् | कतिपय मुलुकहरुमा रहेका नेपाली दुतावास र कुट्नीतिक नियोगहरुमा कार्यरत नेपाली कर्मचारीहरु आफ्ना नागरिकहरुले भोग्नुपरेको पीडा र समस्याहरुको पहिचान गरी निराकरण गर्न तिर नलागी सम्वन्धित मुलुकहरुका कम्पनिहरुसँग मिली उल्टै नेपाली नागरिकहरुलाई पंगु बनाउन लागिपरेका कयौ उद्दारणहरु ताजै छन ।
लालाबालालाई राम्रो नाना, मिठो खाना र बलियो छानाको व्यवस्था गर्ने सपना बोकेर दैनिक हजारौको संख्यामा बिदेश गएका नेपालीहरु मध्य सयौको संख्यामा बाकसमा प्याक भएर स्वदेश फर्किन्छन् तर त्यसको चिन्ता राज्य सन्चालन गर्नेहरुमा देखिदैन | लाखौं रुपैयाँ ऋण काढेर बिदेश गएको छोरो/श्रीमान/बुवा बिदेशमा मृत्‍यु वरण गर्दा चिन्ता त केवल परिवारले लिने हो। राज्य सन्चालन गर्नेहरुलाई के को चिन्ता ? खुकुरीको चोट त अचानोलाई पो थाहाँ हुन्छ, मार हान्नेलाई के थाहाँ ? भने झै आफ्नो परिवार भित्रको सदस्य गुमाउदाको पीडा परिवारलाई मात्रै थाहा हुँदो रहेछ। मानब तस्कर देखी रेमिट्यान्समा डकार्नेहरुलाइ त्यो पीडाको दुःखाई र भोगाइ के थाहा ।
त्यसो त बिदेशमा रोजगारीको क्रमममा मृत्‍यु भएका नेपालीका परिवारले राज्यको तर्फवाट पाउने राहत, सेवा, सुविधा र क्षतिपुर्तीका लागि धाउनु पर्ने निकाय र गर्नुपर्ने पहलको हिसाव राख्ने हो भने राज्यले दिने रकमले त्यो धान्न हम्मे हम्मे हुन्छ | राज्यको कानुन अनुसारको प्रकृया पुरा गरी विदेशिएको एउटा व्यक्ति राज्यले तोकेको समय सिमा भित्र कारणवस स्वदेश फर्किन पाउदैन र स्वदेश फर्कने चाजोपाजो मिलाउँदा मिलाउँदै अन्त्यमा उ मृत्‍यु सैयामा पुग्यो भने हाम्रो राज्यले दिने राहत भनेको जम्मा दश हजार रुपैयाँ | स्वदेशको दुर दराजमा जन्मिएर विदेश पसेका ब्यक्तिको मृत्‍यु भएमा उसको परिवारले राज्य सँग प्राप्त गर्ने दश हजार लिन अरु पचाशौ हजार खर्च नगरी सुखै छैन | स्थानिय निकाय देखी केन्द्र सम्म धाहेर तयार पार्नु पर्ने झन्झटिला कागजातको प्रकृया पुरा गर्दा मृतकका परिवारले गाउँको जग्गा नबेची सुखै पाउँदैनन् | अनी कसरी फेरियो गरिवका लागि राज्य व्यवस्था ? अनी कसरी आयो गरिखान विदेश पसेकाहरुका लागि घर घरमा सिंह दरवार ? अनी राज्य संरचना परिवर्तनका लागि लड्दा लड्दै आफ्नो जाय जेथा सकेर अब परिवारका लागि केही गर्नुपर्छ भन्ने चेतना खुले पछी बिदेश पसेकाहरुले कसरी विश्वाश गर्ने नयाँ बोतल भित्रको पुरानो रक्सीलाई ? भित्तामा झुण्ड्याएर राखिएको क्यालेण्डरमा परिवारको सदस्य विदेशवाट फर्किने दिनको गन्ती सहितको चिन्ह लगाउँदा लगाँउदै दसैं सँगै बसेर मनाउने प्रण गरेका परिवारलाई बज्रपात पर्छ। तिम्रो फलानोको, तिलानो कारणले मृत्‍यु भयो।दुनियामा अजम्बरी कोही हुँदैन र पनि परिवार देखी टाढा रहेर सात समुन्द्र पारी अर्काको भुमिमा देह त्याग गर्दाको पीडा कस्तो होला ? कल्पना कस्ले गर्ने ? हरेक चाहना, ईच्छा र आकाक्षाहरु अधुरै रहन सक्छन तर विदेशी भुमिमा अकल्पनिय निधनको खवर सुन्दा परिवारका सदस्यहरुले त्यो पीडा कसरी भुल्ने ?
त्यसैले दशै आयो त केवल तिनीहरुलाई आयो जस्ले रेमिट्यान्सको खोल ओडेर वर्षमा एक पटक हैन वर्ष भरी दशै मनाई रहेका छन।दसैं आएको छ् त केवल आफ्नो पार्टीका नेताले जुन सुकै हर्कत गर्दा पनि अन्धभक्त भएर समर्थन गर्दै ज्यु हजुर गर्ने कार्यकर्ताहरुलाई, दसैं आयो त नेताहरु कु-तर्क, कु-बिचार र कु-दृष्‍टिकोणमा लागेर सिंगो पार्टी देश र जनता प्रति गद्दार गर्ने नेता र त्यस्ता नेताको अन्धभक्त भएर साथ समर्थन र सहयोग गर्ने धुपौरेहरुलाई । दसैं आएको होला त केवल विदेशमा मृत्‍यु वरण गरेका व्यक्तिको घरमा पारिवारिक किचलो ल्याउन सकिन्छ कि सकिदैन भनी चिया पसलमा चियाको सुर्की लगाउदै अहोरात्र कुरा काट्नेहरुलाई।
हामी बिदेशमा ज्यान गुमाउने हजारौको हैन लाखौंको संख्यामा रहेका मृतकका परिवारलाई खै कहाँ आयो दसैं ? कसरी मनाउन सकिन्छ र यस्ता दसैंहरु ??


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...