Thursday 14th May 2026

४० वर्षभित्र नेपाललाई सिंगापुर बनाउछौँं -बाबुराम भट्टराई


समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन्।सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताए ।

“अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन”, उनले भने, “तपाईहरुले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्र ल्याई देशलाई समृद्ध बनाउँदैछोँ ।”

चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पु¥याइने उनको भनाइ थियो । “संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन”, अध्यक्ष भट्टराईले भने ।

क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उनको भनाइ थियो । सत्य र न्यायको लागि लड्न आफू सदैव तयार रहेको अध्यक्ष भट्टराईले बताए।

समाजवादीका वरिष्ठ नेता अशोक राईले अहिलेको सरकारले विकास बजेटसमेत खर्च गर्न नसकेको बताए । पार्टीका महासचिव गङ्गानारायण श्रेष्ठले समाजवादी पार्टीलाई जनताले देशको वैकल्पिक शक्ति हैन पहिलो शक्तिको रुपमा देख्न चाहेको बताए ।

सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय समाजवादी पार्टी जिल्ला कार्यसमिति गठन गरिएको छ । समितको अध्यक्षमा मोदनाथ लिमल्सिना, उपाध्यक्षमा विष्णुबहादुर सुनुवार, सानी श्रेष्ठ र भरत योञ्जन, सचिवमा टीका घिसिङ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सहसचिवमा छविलाल श्रेष्ठलाई चयन गरिएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

नेपालको व्यस्त वसन्तकालीन आरोहण सिजन सुरु भएसँगै हिमाली क्षेत्रमा मृत्यु हुनेको संख्या बढ्दै गएको छ। अधिकारीहरूका अनुसार Mount Makalu मा…

नेपाल पत्रकार महासंघ कुवेतले रक्तदान कार्यक्रम गरी १७औँ स्थापना दिवस मनाउने भएको छ । महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो १७औँ…

कुवेतमा विगत एक दशकदेखि परोपकारी पत्रकारितासँगै स्वदेश तथा विदेशमा विभिन्न सामाजिक कार्य गर्दै आएको Nirem Group ले Metro Medical Group…

प्रतिकृयाहरू
...