Wednesday 20th May 2026

वडाध्यक्षको दबाबमा प्रधानाध्यापकको एकलौटी निर्णयमा शिक्षक नियुक्ति


तितोपाटी- चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ का वडाध्यक्षको दबाममा सोही वडाको सरस्वती आधारभूत विद्यालयमा शिक्षक नियुक्ति गरिएको पाइएको छ।

वडाध्यक्ष सानुकान्छा श्रेष्ठको दबाबमा परी विद्यालय व्यवस्थापन समितिलाई समेत जानकारी नगराई आफूले शिक्षक नियुक्ति गरेको विद्यालयका प्रधानाध्यापकले नै स्विकारेका छन्।१ नं वडा कार्यालयले २०७६ असार १५ गतेको मितिमा विद्यालयलाई पत्र काट्दै असार ११ गतेबाट चमेली थापाले अध्यापन गराउँदै आएकोले सोही आधारमा नियुक्ति गरिदिन भन्दै सिफारिससाथ अनुरोध गरेको थियो। वडा कार्यालयको चलानी नं. ६१० को पत्रमा निजलाई नियुक्त गर्नु भनी उल्लेख गरिएको छ।

विद्यालयका प्रधानाध्यापक गणेशबहादुर श्रेष्ठले आफूलाई वडाध्यक्षले सो व्यक्तिलाई तुरुन्त नियुक्ति गर्नु भनी पटकपटक दबाब दिएका कारण असार १३ गते नै निज चमेली थापालाई नियुक्ति गरिएको बताए। विद्यालयमा शिक्षक नियुक्ति गर्नका लागि विद्यालय व्यवस्थापन समितिको बैठकले दरखास्त आह्वान गर्नुपर्छ र सोही आधारमा प्राप्त दरखास्त उपर विभिन्न परीक्षा लिएर उत्कृष्ट ठहरिएकालाई समितिले नै निर्णय गरी नियुक्त गर्नुपर्ने हुन्छ। तर यो सबै प्रक्रिया पूरा नगरी शिक्षक नियुक्ति गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्र बोहरा बताउँछन्। ‘निजी स्रोतमा नियुक्ति गर्दा भने यी सबै प्रक्रिया नपुर्‍याए पनि कम्तीमा विद्यालय व्यवस्थापन समितिले भने निर्णय गरेपछि मात्रै नियुक्ति गर्न पाइन्छ,’ उनले भने।

विद्यालयका प्रधानाध्यापक श्रेष्ठ भने नियुक्ति गरेपछि मात्रै समितिलाई जानकारी गराएको बताउँछन्। सो वडाको वडा शिक्षा समितिले आफ्ना वडाभित्रका विद्यालयमा निजी स्रोतमा कार्यरत सबै शिक्षकलाई कम्तीमा १० हजार तलब दिने निर्णय गरेको थियो। सो निर्णयका आधारमा अन्य विद्यालयमा कार्यरत शिक्षकको नै तलब वृद्धि गरिएको छ।

सरस्वती आधारभूत विद्यालयमा भने पाँच हजार तलब पाउने निजी स्रोतको शिक्षक हुँदाहुँदै १० हजार तलब पाउनेगरी नयाँ शिक्षक नियुक्तिको लागि वडाले सिफारिससहित दबाब दिएको हो। त्यहाँ (सरस्वतीमा) मात्रै होइन, वडाका सबै ११ वटै विद्यालयमा हामीले नयाँ शिक्षक नियुक्ति गरेका छौं,’ वडा सचिव राजबहादुर श्रेष्ठले नगर शिक्षा शाखा प्रमुखकै कार्यकक्षमा भने, ‘गाउँ शिक्षा समितिले गरेको निर्णयको आधारमा नियुक्ति गरिएको हो।’

तर वडाका अन्य विद्यालयमा भने नयाँ शिक्षक नियुक्ति गरिएको छैन। गाउँ शिक्षा शाखाले सबै शिक्षकलाई कम्तीमा १० हजार तलब दिने निर्णय गरेको भए पनि आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको सरस्वती आविमा कार्यरत निजी स्रोतका शिक्षक लव खत्रीले बताए। उनका अनुसार नयाँ शिक्षिकालाई वर्षे बिदा सकिएपछि मात्रै नियुक्ति गरिएको हो।

प्रधानाध्यापक श्रेष्ठ भने वर्षे बिदाअगाडि असारमै नियुक्ति गरेको भए पनि तलब भने अहिलेसम्म नदिएको र यसबारेमा वडाध्यक्षले पनि आफूलाई केही जानकारी नदिएको बताए।


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...