Saturday 15th August 2026

प्रधानमन्त्री ओली सिङ्गापुर प्रस्थान, प्रमको कार्यभार पोखरेललाई


तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनि साउन २७ गते स्वदेश फर्किएका थिए ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा शाहले आज प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “ मिर्गाैलासम्बन्धी एण्टिवडीको मात्रा बढी देखिन पुगेको थियो । एण्टिवडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो । सिङ्गापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उहाँको मिर्गाैलाको थप परीक्षण र क्षमताको अभिवृद्धिका लागि आवश्यक उपचार हुनेछ ।”

प्रधानमन्त्रीको कार्यभार पोखरेललाई
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गर्नुभएकाले उनको अनुपस्थितिमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यभार सम्हाल्न तोकेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिशमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल आदिवासी जनजाति महासंघ, कुवेतको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस तथा १२औँ वार्षिक उत्सव–२०२६ शुक्रबार, १४ अगस्ट २०२६ का दिन…

लेबनानका प्रधानमन्त्री नवाफ सलामले लेबनानी भूभागबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने स्पष्ट समयतालिका तय गर्नुपर्ने बताएका छन्। उनले इजरायलले…

इरान युद्धपछि चिनियाँ विद्युतीय गाडीको उछाल : नेपालमा ईभी बजारको भविष्य कता ? इरान युद्ध र होर्मुज जलडमरूमध्यमा आएको अवरोधपछि…

प्रतिकृयाहरू
...