Wednesday 9th September 2026

ट्रेड युनियन प्रतिबन्ध गर्ने नियतसँग सम्झौता हुँदैन : काङ्ग्रेस


काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिने तर तिनलाई घुमाउरो ढङ्गले प्रतिबन्धित नै गर्ने नियतसँग कुनै सम्झौता गर्न नसकिने जनाएको छ।

काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित समसामयिक विषयको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका र मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री संस्थालाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदम काङ्ग्रेसलाई मान्य नहुने बताए।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाको गठन तथा सञ्चालनसम्बन्धी विधेयक छलफलका क्रममा रहेको छ। सो छलफलका क्रममा उठेको आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत रहेको प्रवक्ता शर्माले बताए।

काठमाडौँको गोङ्गबु बसपार्कको अनियमितता प्रकरणप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले त्यससम्बन्धी तथ्यको गहिरो अनुसन्धान गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सार्वजनिक अपिल गरे। काङ्ग्रेसलाई हेर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रतिवेदनमा उल्लेखित विवरणबारे प्रवक्ता शर्माले भने, ‘अहिलेलाई केवल यति टिप्पणी, त्यो दस्तावेजमा काङ्ग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ।’

काङ्ग्रेसले स्थापनाकालदेखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको उनले बताए।

-रासस


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...