Tuesday 28th July 2026

साउदी अरबको शाही आदेशपछि अब महिलाले स्वतन्त्र यात्रा गर्न पाउने


साउदी अरबमा महिला अब कुनै पुरुष अभिभावकको अनुमतीबिना नै विदेश यात्रा गर्न सक्नेछन् । शुक्रबार यसबारे शाही आदेश जारी गरेको छ । नयाँ नियम अनुसार अब २१ वर्ष माथिका महिलाले कुनै पुरुष अभिभावकको मञ्जुरीबिना नै पासपोर्टका लागि आवेदन दिन सक्छन् ।

अर्थात्, अब साउदी अरबमा सबै वयस्कले विदेश यात्राका लागि पासपोर्टका लागि निवेदन दिन सक्छन् । यसमा महिला र पुरुषबीच भेदभाव हुनेछैन ।

शाही आदेशका अनुसार अब महिलालाई आफ्नो बच्चाको जन्म, आफ्नो विवाह र सम्बन्धविच्छेदका लागि रजिस्टर गर्ने अधिकार हुनेछ ।

साथै जागिरमा महिलालाई थप अवसर दिने कुरा भनिएको छ । नयाँ नियम अनुसार देशका सबै नागरिकलाई कुनै भेदभाव बिना नै काम गर्ने अधिकार हुनेछ ।

अहिलेसम्म साउदी अरबमा महिलालाई विदेश यात्रामा जान वा पासपोर्टका लागि निवेदन दिन कुनै पुरुष अभिभावक (श्रीमान्, पिता वा अन्य पुरुष आफन्त) बाट अनुमती लिनु पर्दथ्यो ।

साउदी अरबका शासक राजकुमार मोहम्मद बिन सलमानले यसअघि पनि विभिन्न सुधारको घोषणा गरेका थिए । यसमा महिलालाई गाडी चलाउनमा लगाइएको प्रतिबन्ध हटाउनु पनि संलग्न छ ।

सन् २०१६ मा उनले २०३० सम्म देशको अर्थव्यवस्थामा सुधारको योजनाको घोषणा गरेका थिए । यसको एउटा उद्देश्य कामकाजी महिलाको संलग्नता २२ प्रतिशतबाट बढाएर ३० प्रतिशत गर्नु थियो ।

यद्यपि, साउदी अरबमा यस्ता विभिन्न हाई प्रोफाइल मामला पनि छन् जसमा महिलाले प्रताडनाको आरोप लगाउँदै क्यान्डाजस्ता अन्य देशमा शरण मागेका छन् ।

यसै वर्ष जनवरीमा क्यानडाले १८ वर्षीया रहाफ मोहम्मद अल कुनूनलाई शरण दियो । उनी साउदी अरबबाट भागेर अष्ट्रेलिया जाने कोसिसमा थिइन् । तर थाइल्याण्डको राजधानी बैंककमा एयरपोर्टमा एक होटलमा उनी फसिन् र उनले सहायताको अपिल गरिन् ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

युक्रेनले क्यास्पियन सागरमा रहेको एक इरानी जहाजमाथि सफल लामो दूरीको आक्रमण गरेको दाबी गरेको छ। यदि यो पुष्टि भयो भने,…

डा. गोविन्द केसीले २०१२ देखि पटक–पटक अनशन गर्दै मुख्यतः स्वास्थ्य सेवा, मेडिकल शिक्षा सुधार, सुशासन र राजनीतिक हस्तक्षेप अन्त्य का…

वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग १५ दिनभित्र सम्बोधन नगरे वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रक्रिया रोक्ने चेतावनी दिएका छन्। उनीहरूले ५९८…

प्रतिकृयाहरू
...