Sunday 14th June 2026

कञ्चनपुरमा शिक्षकको कुटाइबाट घाइते बिद्यार्थीको उपचारको क्रममा मृत्यु


तितोपाटी – कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए ।

‘यसअघि सो घटनाबारे विद्यार्थीका अभिभावकका तर्फबाट चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी आएको थियो’, प्रहरी निरीक्षक भट्टले भने, ‘त्यो बेला अभिभावक र शिक्षकबीच पहिले घाइतेको उपचार गराउने सहमति भएको थियो ।’

प्रहरीले सुरक्षा र घटनाबारे अनुसन्धानका लागि भन्दै विद्यालयका प्रधानाध्यापकसहित चार शिक्षकलाई मङ्गलबार राती नै नियन्त्रणमा लिएको जनाएको छ । ‘शव भारतबाट आइसकेपछि परीक्षणलगायतका प्रक्रिया अघि बढ्छ’, भट्टले भने, ‘पीडित पक्षको जाहेरीका आधारमा कारवाही अघि बढ्छ ।’

प्रहरीले प्रधानाध्यापक यशोदा जोशी तथा शिक्षक लक्ष्मण भट्ट, दुर्गादत्त पाठक र हर्क जाग्रीलाई नियन्त्रणमा लिएको छ । मृतक विद्यार्थीका अभिभावकले भने प्रधानाध्यापकसहित चारै शिक्षकले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छन् । कुटपिटबाट विद्यार्थीको छाती, टाउकोमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो ।

-रासस


सम्बन्धित शीर्षकहरु

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

कुवेतको गृह मन्त्रालयले सरकारी राजस्व टिकट (Government Stamps) नक्कली बनाउने र अवैध रूपमा बिक्री वितरण गर्ने गिरोहविरुद्ध ठूलो कारबाही गर्दै…

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजहरूलाई लक्षित गर्दै इरानले प्रक्षेपण गरेका भनिएका धेरै ड्रोन…

प्रतिकृयाहरू
...