Monday 6th May 2024

सिंह दरबारमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीले संचार माध्यमकै आलोचना गरे


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले हिँजो साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा एक पत्रकार सम्मेलन गरे । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधको कारण संघीय संसदमा संवोधन गर्न नपाए पछि सिंहदरबारमा बोलाइएको पत्रकार सम्मेलन मार्फत उनको युरोप भ्रमण, गुठी विधेयक लगायतका विषयमा बताएका हुन । प्रधानमन्त्रीले संघीय संसदमा बोल्न नपाएको प्रति तिक्तता व्यक्त गर्दै कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले संसदीय मर्यादा कायम राख्न नसेकेको बताए। ‘आज संसदमा कांग्रेसले असंसदीय र अमर्यादित व्यवहार गरेको छ,’ प्रधानमन्त्री ओलीले थपे, ‘पहिले आफू बोल्न पाउनुपर्छ भन्ने बाल हठ दुनियाँमा कहीँ पनि हुँदैन।’ लोकतान्त्रिक आन्दोलनका आफ्ना पूराना मित्र देउवा नै वेल घेर्ने कामको नेतृत्व गरेको देख्दा आफू आश्चर्यमा परेको प्रधानमन्त्रीको भनाइ छ। ‘कांग्रेसले अड्डीमात्रै लिएन वेल घेरेर संसदको कामकारबाही नै अवरूद्ध गर्‍यो,’ उनले भने।

उनले संसदमा पहिले प्रधानमन्त्री बोल्ने पनि बताए। ‘पहिले प्रधानमन्त्री बोल्ने हो। त्यसपछि प्रमुख प्रतिपक्षी दलका नेता र मर्यादाक्रमअनुसार अरु बोल्ने हो,’ उनले भने। हरेक क्षेत्रमा निहुँ खोज्ने काम कांग्रेसले गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए। ‘कम्तीमा पनि मेरा मित्र शेरबहादुर देउवालाई संसदको मर्यादा थाहा हुनु पर्थ्यो,’ उनले भने। सरकारविरूद्धमा घोर दक्षिणपन्थीदेखि घोर वामपन्थीसम्म लागेको आरोप प्रधानमन्त्रीको छ। सरकारले सामाजिक न्याय र समावेशितामा जोड दिँदै आएको पनि उनले उल्लेख गरे।

प्रधानमन्त्रीले भाषाको प्रयोगलाई लिएर सञ्चार माध्यमहरूको पनि कडा आलोचना गरेका छन्। सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको विषय निकाल्दै सञ्चार माध्यमको भाषालाई लिएर टिप्पणी गर्दै ‘हाम्रो समाज एउटा शिष्ट समाज हो। हाम्रो टेलिभिजनले तपाईं भन्न जान्दैन, तपाईं भन्ने शब्दै हराइसक्यो’ भने। उनले भाषा र संस्कृतिको कुरा गर्ने सञ्चार माध्यमप्रति खिसिटिउरी गर्दै ‘नेपाली भाषामा त बाउलाई तपाईं नै भन्ने चलन हुन्छ, बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबाउलाई पनि तिमी, हजुरआमालाई पनि तिमी, यो त नेपाली भाषा, सभ्यताभित्र पर्दैन’ भन्दै उनले स्थापित सञ्चार माध्यमले पनि सामाजिक सञ्जाललाई गुरु ठानेको टिप्पणी गरे। संचार माध्यममा बोलिकएको कुरा सार्वजनिक हुने हुँदा सामाजिक संजालमा लेखे बोलेको कुराको भरमा संचार माध्यम पछि लागेको प्रति पनि उनको कडा आलोचना थियो।

नयाँ पिँढीका बालबालिकालाई बढी असर गरेको हुन्छ। यस कुरामा अलिक बढी संवेदनशील हुनुपर्छ’, ओलीले भने, ‘मैले केही आफूलाई विद्धान भन्नेहरूले बोलेको सुनेको छु। बोलेको सुन्दा सरम लाग्छ। सभ्यताका सीमाहरू अचम्म लाग्छ। संस्कृतिको रक्षा गर्ने शब्द बोलेको हुन्छ तर त्यहाँभित्र अमर्यादा, अभ्रदता, साँस्कृतिक मूल्यहरूको अभाव देखिन्छ।’ ओलीले आफूले मात्र यस्तो अवस्थाबाट उत्पन्न हुने परिणाम भोग्न नपर्ने बताए। ‘हामी सबै परिवार र समाजमा बाँच्नुपर्छ। मर्यादित समाज। आफ्ना कुरा भनौं ठीक छ। तर तर्कपूर्ण तथ्यपूर्ण र मर्यादित ढंगले भनौं भन्ने मेरो आग्रह हो’, प्रधानमन्त्री ओलीले भने।

गुठी विधेयकलाई भ्रमपूर्ण तवरले प्रचार गरिएको र जनमानसमा भ्रम फैलाइएको प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘काठमाडौं र बाहिरका गुठी फरक छ। गुठीका नाममा उपत्यका बाहिर जनता प्रताडित छन्। प्राधिकरणले गुठी सञ्चालन गर्ने होइन। सञ्चालन र नियन्त्रण गर्न खोज्यो भनेर भ्रम छरियो।’ गुठी विधेयक सरोकारवालासँग छलफल गर्नुपर्ने देखिएकोले सरकारले फिर्ता लिएको प्रधानमन्त्रीले जानकारी गराए। प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्नुभन्दा १५ मिनेटअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिने घोषणा गरेकी थिइन्।

‘जुन ढंगले निजी गुठी चलिरहेका छन् त्यसरी नै सञ्चालन हुनुपर्छ भन्ने नै हो, तर गुठी विधेयकको एउटा डालोभित्र हजार हरेउ देखापर्ने स्थिति बन्यो,’ प्रधानमन्त्रीले भने,‘लोकतन्त्रको जरा काट्ने कैचीँ चलमलाउन खोजेको देखेपछि मन्त्रीले आफूले दर्ता गर्नुभएको विधेयक फिर्ता लिनुभएको छ। म त्यो निर्णयको दृढ समर्थन गर्छु।’ विधेयकमाथि छलफल गर्न संसद हुँदाहुँदै सडकमा आन्दोलन गरिएको ओलीको गुनासो छ। ‘माइतीघर त साँच्चैको माइतीघर भएको छ। मलाइ घरमा यस्तो गरे भनेर पनि माइतीघर गएर आन्दोलन गरिहाल्ने,’ प्रधानमन्त्रीले भने। उनले नेपालमा संघर्ष, बलिदान, लडाइँ र संघर्ष गरेर आएको नेतृत्व भएको उल्लेख गर्दै जे गर्दा जनताको हित हुन्छ सरकारले त्यही गर्ने बताए। सरोकारवालासँग र विज्ञसँग छलफल भइहाल्छ।’ लोकतन्त्रमा आन्दोलन गर्न नपर्ने भन्दै सानातिना कुरालाई लिएर आन्दोलन गर्नुपर्ने अहिले अवस्था छैन, संवादबाट नै समाधान खोज्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भने।


सम्बन्धित शीर्षकहरु

एजेन्सि- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच इजिप्टमा भएको वार्ता निष्कर्षविहीन भएको छ । वार्ता निष्कर्षविहीन हुनुको दोष इजरायली प्रधानमन्त्री…

ब्राजिलको दक्षिणी भेगमा भारी वर्षापछि आएको बाढीमा परेर ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । बाढीमा परेर १०३ जना अझै…

सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उप्न्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष…

प्रतिकृयाहरू
...