Monday 30th March 2026

तेश्रो लिंगी भूमिका श्रेष्ठ विश्वकै प्रभावशाली ब्यक्तिको सूचिमा


तितोपाटी – बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छिन् । लैङ्गिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी छिन् । भूमिका तेस्रो लिङ्गी हुन् ।

संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको हो । यो सूचीमा पर्न भूमिकाले केवल तेस्रो लिङ्गिको अधिकारका लागि मात्र काम गरेकाले भने होइन । भूमिकाको वास्तविक नाम कैलाश श्रेष्ठ हो । बाल्यकालदेखि नै पुरुषभन्दा महिलाको चरित्र देखिएपछि शुरुमा परिवारले उनको स्वभावलाई बालसुलभ कामको रुपमा लिएका थिए । तर ११ वर्षको हुँदा पनि त्यो व्यवहार परिवर्तन हुनुको साटो बढ्दै गयो ।

काठमाण्डाैंमा जन्मेर हुर्केकी ८ वर्षको उमेरमै बाबु गुमाएकी र आमाको सहारामा हुर्किएकी भूमिका अर भन्दा फरक थिइन । केटा भएर पनि उनको आनीबानि ब्यवहार केटीको जस्तो भएपछि उनलाइ सबैले गिल्ली गर्थे । केटाहरूले गिज्याउने, शाैचालय जाँदा दुर्ब्यवहार गर्ने, विद्यालयका शिक्षकहरूबाट समेत नकारात्मक भाव राखी गाली गर्ने देखि कपाल नकाटे सजायँ दिने जस्ता कुराहरू आएपछि कक्षा दशमा पढ्दा पढ्दै पढाइ नै छोडिन् ।

उनी कैलाशबाट भूमिका कसरी बनिन् त ?

फरक पहिचानकै कारण अनेक समस्या भोग्दै उनी १७ वर्षको उमेरमा ब्लु डायमण्ड सोसाइटीको सम्पर्कमा पुगिन् । त्यहीबाट उनी कैलाश श्रेष्ठबाट भूमिका श्रेष्ठ बनिन् । सन् २००४ ताका नेपाल टेलिभिजनले सञ्चालन गर्ने हाम्रो काठमाडौँ कार्यक्रममा उनले पहिचान खुलाएरै अन्तरवर्ता दिएपछि लुकेका धेरै तेस्रो लिङ्गी बाहिर आए ।

त्यसपछि उनी लैङ्गिक पहिचान भनेको महिला र पुरुषको मात्र हैन समाजमा रहेका हरेकको हुनुपर्छ भनेर सुनिलबाबु पन्त, पिंकि गुरुङ लगायतसँग हातेमालो गर्दै पहिचानको अधिकार प्राप्त गर्ने यात्रामा सामेल भइन् ।

कानूनी लडाइको सफलता

वि.सं. २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले विभेदकारी कानून खारेज गरी तेस्रो लिङ्गी तथा लैङ्गिक अल्पसंख्यकहरूलाई अन्य नागरिक सरह अधिकार दिन सरकारलाई निर्देशन दिदै फैसला गर्यो । सरकारलाई फरक लैङ्गिक पहिचान भएकै आधारमा मौलिक हकबाट बन्चित नगर्न भनेपछि संसद्ले कानून बनाउने बाटो पायो । सुनिलबाबु पन्तले तेस्रो लिङ्गीका तर्फबाट सर्वोच्चमा दायर गरेको रिटमा त्यो परिवर्तनकारी निर्णय भएको श्रेष्ठ बताउँछिन् ।

नेपालको संविधान २०७२ को धारा १२, १८ र ४२ ले तेस्रो लिङ्गि तथा लैङ्गिक अल्पसंख्यकको हक सुनिश्चित गरेको छ ।संविधानमै तेस्रो लिङ्गीको अधिकार उल्लेख गर्ने दक्षिण अफ्रिका, इक्वेडरपछि नेपाल तेस्रो राष्ट्र हो ।

थपियो उत्साह

सूचीमा परेपछि प्रतिक्रिया दिँदै उनले काममा सक्रिय हुन उर्जा थपिएको बताएकी छिन् । ‘‘सूचिमा परेको खबर पाएपछि निकै उत्साहित भएको छु,” उनले भनिन्, “अब उपलब्ध हुने मञ्चमा नेपालमा व्याप्त लैङ्गिक असमानता हटाउने उपायबारे बहस चलाउनेछु ।

बत्तीस वर्षीया श्रेष्ठ हाल तेस्रो लिङ्गिको हकहितका लागि काम गर्ने संस्था ब्लु डायमण्ड सोसाइटीमा कार्यक्रम व्यवस्थापक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघमा उपाध्यक्ष, यौनिक तथा लैङ्गिक अल्पसंख्यक विद्यार्थी मञ्चमा कोषाध्यक्ष, महिलाको लागि लैङ्गिक समानता सम्बन्धि काम गर्ने संस्था ‘लुम’मा सल्लाहकार लगायतका बालबालिकाको क्षेत्रमा काम गरिरहेकी छिन् भने उनले आफुले जिवनमा भोगेका विषयहरूलाइ समेटेर भूमिका तेश्रो लिंगीको आत्मकथा समेत प्रकाशित गरिसकेकी छिन् ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...