Wednesday 29th July 2026

‘मुन्द्रे’ अब नयाँ गेटअपमा, कमेडी क्लब लिएर अाउने


तितोपाटी – नेपाल टेलिभिजनबाट एकताका प्रसारित टेलिश्रृंखला ‘जिरे खुर्सानी’मा ‘मुन्द्रे’ चरित्रबाट दर्शकमाझ चिनिएका हास्य कलाकार जितु नेपालले सोही टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ सञ्चालन गर्ने भएका छन्। कि इन्टरटेनमेन्टले निर्माण गर्न लागेको यो कार्यक्रम आगामी सोमबारबाट राति नेपाल टेलिभिजनमा प्रसारण हुनेछ।

कलाकार जितुले शनिबार राजधानीमा पत्रकारमाझ दुई वर्ष अघिदेखिको सोचलाई यसपटक पूरा गर्न लागेको बताए। ‘कुनै समय टेलिभिजनमा हिट बनेका टेलिसिरियल ‘तितो सत्य’, ‘मेरी बास्सै’ र ‘जिरे खुर्सानी’ अहिले छैनन्। कार्यक्रमका लागि नेपालका ग्रामीण भेग पुग्दा अधिकांश दर्शकले कमेडी कार्यक्रमको माग गर्नुभयो,’जितुले भने,‘टेलिभिजनले नै दर्शकमाझ मलाई ‘मुन्द्रे’का रुपमा चिनायो। त्यसकारण पनि मैले सो पनि ‘मुन्द्रे’ नाम राखेर सञ्चालन गर्न लागेको हुँ।’

२२ वर्षे कलाकारितामा १५ वर्ष स्टेजमा उभिएर दर्शक हँसाएको स्मरण गर्दै जितुले खेतलाई बाँझो नराख्न कार्यक्रम गर्न लागेको दाबी गरे। ‘छिमेकी मुलुकका टेलिभिजनमा आइरहने कमेडी कार्यक्रमले त्यहाँका खेत भिजेका छन्। तर हाम्रो खेत अहिले बाँझो अवस्थामा छ,’उनले भने,‘खेत जोतेर बाली उमार्न कमेडी सो चलाउन लागेको हुँ।’ उनले फिल्म बनाइदिन्छु भनेर करोड बढी रकम बैंकमा जम्मा गर्न लालयित हुनेहरूले टेलिभिजनमा कार्यक्रम चलाउँछु भन्दा १० लाख रुपैंयाँ पनि जम्मा गर्न हिचकिचाउने गरेकोमा दुःखेसो पोखे। जितुका अनुसार प्रारम्भिक चरणमा पाँच भाग टेलिभिजनबाट प्रसारण हुनेछ।

सोमा प्रमुख भूमिकामा रहेकी कलाकार, निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाले ‘मुन्द्रेको कमेडी क्लब’ विदेशी कार्यक्रमभन्दा फरक रुपमा प्रस्तुत गर्ने दाबी गरिन्। ‘अक्कल मिलाएर नक्कल गर्ने कार्यक्रमको रुपमा यसलाई प्रस्तुत गर्नेछौं । टेलिभिजनमा कमेडी सिरियल नआएपछि दर्शकले कमेडी सोको माग गर्नुभयो,’दीपाले भनिन्,‘हाम्रो उद्देश्य मनको हाँसो दर्शकमाझ पु-याउने हो।’

नेपाल टेलिभिजनका अध्यक्ष डा. महेन्द्र विष्टले कार्यक्रममा ‘सेन्सर’ नहुने खुलाए। ‘टेलिभिजनबाट प्रसारण हुने कार्यक्रममा सेन्सर आवश्यक छैन। हामी कार्यक्रमको सेन्सर भन्दा पनि विषयबस्तु कस्तो छ त्यसमा ध्यान दिनेछौं,’विष्टले भने,‘उहाँहरूले सेन्सर नै हुने किसिमको कार्यक्रम पक्कै बनाउनुहुने छैन।’

कि इन्टरटेनमेन्टका अध्यक्ष शशी रिजालले सोलाई मर्यादित र सभ्य किसिमले तयार पारिएको बताए। उनले नेपाली मौलिकतालाई झल्काउने किसिमको सजावटसहितको सेटमा कार्यक्रम प्रस्तुत गरिने जनाए।


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...