Saturday 18th May 2024

नेपाली महिला खाडीमा तस्करी गर्ने काम रोकिएन


एजेन्ट सम्पर्कमा नअाउँदा लाहानकी रीता कुवेत नपस्दै दिल्लीमा अड्किइन

तितोपाटी – पुर्ख्यौली घर उदयपुर र हाल लहान बस्दै आएकी रिता (नाम परिवर्तन) गत शनिबार नयाँदिल्लीको हवाईअड्डा ओर्लिइन् । दिल्ली पुग्नुअघिसम्म कुवेतसम्मको बन्दोबस्ती गर्ने ‘एजेन्ट’ सम्पर्कमै थिए । छिनछिनमा फोन गर्थे ।

दिल्लीसम्मको स्पाइस जेटको टिकट पनि समयमै पठाइदिएका थिए। एयरपोर्टमा समयमै लिनआउँछु समेत भनेका थिए तिनले। उनलाई पनि यसपटकको कुवेतसम्मको यात्रा अघिल्लोपटक भन्दा निकै सहज हुने लागिरहेको थियो। तर, उनी जब दिल्ली ओर्लिइन् त्यो अनुमान गलत साबित भयो।

एयरपोर्टमा करिब एक घन्टासम्म कुर्दा पनि कोही आएन। तब उनमा चिन्ता बढ्न थाल्यो। ‘निकै चिन्ता हुन थालेको थियो, के गर्ने? कसो गर्ने? कोही चिनेको छैन?’ उनले भनिन्। तर,यसैबीच उनले भाग्य र भाषा दुवैको साथ पाउँछिन्। दार्जिलिङका नेपाली भाषीहरुको एउटा समूहले पनि उनीसँगै एउटै विमानको यात्रा तय गरेको रहेछ। एयरपोर्टमा तिनीहरुले नेपाली भाषामा कुराकानी गरेको उनले सुनिन्। र, एकजनालाई भनेर एजेन्टलाई फोन गरिदन आग्रह गरिन्।

त्यतिन्जेलसम्म रिताको कथा ती दार्जिलिङका नेपालीभाषी दाजुभाईले थाहा पाइसकेका थिए। उनकै सामु एजेन्टलाई एउटा नेपाली चेलीलाई कुवेत पठाउने भनेर अलपत्र पार्ने भनेर थर्काए।

त्यसपछि एजेन्टले आफूले ‘पोल्याण्ड’ पठाउन अन्तर्वाताका लागि बोलाएको जवाफ दिए र फोन काटे। त्यसपछि मात्र रितालाई आफू एजेन्टको फन्दामा परेको थाहा भयो। किनकि यसअघि पोल्याण्डको आइनोसम्म गरिएको थिएन। ‘मलाई त कुवेत नै भनेर सुरुदेखि भनेको हो, टिकट पनि पठाएको त्यही भनेर पठाएको थियो,’ रिताले भनिन्। त्यसपछि क्रमश: उनको कुवेतयात्राको अर्को पाटो खुल्न थाल्यो।

त्यसो त उनलाई भारतहुँदै खाडी जान सरकारले रोक लगाएको छ भन्ने पनि थाहा थियो। त्यसरी जाँदा आइपर्ने जोखिम त उनी आफैंले अघिल्लोपटक नै व्यहोरिसकेकी थिइन्। त्यही विगतले नै उनलाई कुवेतको ‘आकर्षक कमाई’ को सपना बुनेपनि भित्रैदेखि झस्काउँथ्यो।

***

कुरा तीनवर्ष अघिको हो। २०७२ सालमा आफ्नो परिवारको हैसियत उकास्न भन्दै घरेलु कामदारकै रुपमा कुवेत पुगेकी थिइन् उनी। सुरुमा ठिकै पनि थियो। काम त भ्याए जति गर्नुपर्थ्यो।

बिहान उठेदेखि राति मध्यरातसम्म। तर, महिना बित्दै जाँदा घरमालिकको व्यवहार फेरिन थाल्यो। खाना नदिने, गाली गर्ने र हुँदाहुँदा तलब पनि समयमा नदिने। तोकिएको ३० हजार रुपैयाँ तलब पाउन पनि अनेकन कष्ट व्यहोर्नुपर्ने र सुन्नुपर्ने।

‘त्यतिबेला नै आइन्दा विदेश नजाने कसमै नै खाएर फर्केकी थिएँ,’ उनले भनिन्। दुई वर्षको भिसा भएपनि तलब नपाउने र मालिकले दिनहुँ शारिरीक र मानसिक यातना दिन थालेपछि उनले आफूसँग बचेको केही पैसाबाट टिकट काटेर स्वदेश फर्किइन्। करिब पाँच महिनाको तलब नै माया मारिन्। तलबका लागि पहिलेका एजेन्टसँग सम्पर्क गर्ने कोशिश पनि गरेकी थिइन् तर त्यो कोशिश सफल भएन।

न तलब पाइन् न कुनै क्षतिपूर्ति। उनीसँग क्षतिपूर्ति दाबी गर्ने कुनै आधार नै थिएन। किनकी उनको त्यो यात्रा नै ‘गैरकानुनी’ थियो। किनकि सरकारले २०७२ सालमै नेपाली महिलाहरुलाई घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धपछि वैदेशिक रोजगारीको ‘माफिया’ ले अर्को विकल्प रोजे, नेपाली चेलीहरुलाई भारतका सहरहरुबाट उडाउने।

त्यसपछि भारतका लागि छुट्ने बसहरु नेपाली चेलीहरुले भरिन थाले। रितालाई पनि बसबाटै दिल्ली पुऱ्याइयो।

दिल्ली पुग्नुअघिसम्म पनि उनलाई आफू एक्लै कुवेत जान लागेको भन्ने थियो। ‘नेपालबाट आउँदा बसमा म एक्लै यात्रा गरेँ, तर दिल्लीको जब एउटा होटलमा पुगेँ त्यहाँ त तीस जना भन्दा बढी अरु दिदीहरु पनि रहेछन्,’ उनले सम्झिइन्। चारदिनको दिल्ली बसाई पछि उनलाई श्रीलंकाको राजधानी कोलम्बो उडाइयो। दिल्लीको होटलमा राखिएका अरुमध्ये केहीलाई चेन्नईबाट उडाउने भन्दै लगियो। कोलम्बोको दुई दिने बसाई पनि दिल्लीकै जस्तो थियो। एउटै कोठामा तीसजना जति। सबै नेपाली दिदीबहिनी। दुई दिनपछि बल्ल उनको पनि पालो आयो र पुगिन् कुवेत।

र, कुवेतमा साढे १ वर्षसम्म घरेलु कामदारको रुपमा दुखिया काम गरिन्। अनि भागेर नेपाल आइन्।

***
तर, करिब एक वर्षपछि घरको अवस्थाले उनमा फेरि विदेशको भूत चढ्न थाल्यो। घरमा आफू मुनि रहेका तीन बहिनी, दाजु र बुबा। घर चलाउनै हम्मे पर्न थाल्यो। विदेश पठाइने भन्दै दलालहरु पनि घरघर धाउँथे। यसैबीच कुवेतमा रहेकी नाताले ‘भाउजु’ पर्ने एक जना महिलासँग उनको नियमित सम्पर्क थियो। तर, जेजस्तो दुःखै भए पनि बुबा र घरका अन्य सदस्यले उनलाई विदेश नजान निकै आग्रह पनि गरे। ‘बुबाले मिठोमसिनो खाउँला नजाउ भन्नुभएको थियो,’ उनले सम्झिइन्। तर, उनका अड्डीका सामु घरका कसैको जोर चलेन।

र, फेरि एकपटक अघिल्लोपटक जस्तै जोखिमपूर्ण र गैरकानूनी यात्रामा निस्कने निर्णय गरिन्। आफ्नो घर नजिकको लहान बजारबाट काँकडभिट्टा हुँदै उनलाई सिधै भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल पुऱ्याइयो। त्यहाँसम्म उनी चिनेका दाईमार्फत् पुगिन्। यो यात्रा कुवेतका लागि तय गरिएको थियो। तर, उनीसँग न त कुवेतका लागि भिसा थियो, न कुवेतसम्म पुग्ने टिकट।

थियो त मात्र बागडोगरा–दिल्लीको टिकट। त्यो पनि त्यही चिनेको दाइले सित्तैमा पठाइदिएको। मोबाइलमा रहेको त्यो डिजिटल टिकट देखाएकै भरमा उनी दिल्ली उड्न पाइन्। सामान्य सोधपुछ बाहेक बागडोगरा विमास्थलका अधिकारीहरुले उनका बारेमा खासै चासो राखेनन्। ‘दिल्ली जाने भनेपछि थप केही सोधेनन्,’ उनले भनिन्।

दिल्ली उडेदेखि कुवेत पुगेर महिनामा ‘राम्रो आकर्षक’ कमाइ हुने सपना बुन्न थालिन्। त्यही कमाईबाट आफ्नो परिवारको गर्जो टार्ने र केही आफूलाई बचाउने। रिताको त्यो सपना एकाएक चकनाचुर भए पनि अनधिकृत रुपमा खाडी मुलुकमा जाँदा व्यहोर्नु पर्ने मानसिक र शारिरीक यातनाबाट भने उनी बचेकी छिन्।

साथै दलालको अन्य षडयन्त्रबाट पनि। ‘अब त घरै फर्किन्छु,कहिँ जान्न,’ रिताले निन्याउरो अनुहार लगाउँदै भनिन्। हाल उनी चेलिबेटी बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहँदै आएको हेल्प नेपाली मिशनको सम्पर्कमा छिन्। र, नेपाली दूतावासको समन्वयमा रितालाई नेपाल फर्काउन आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...