Tuesday 14th July 2026

महिला बेचबिखनको बदलिंदो स्वरूप


तितोपाटी – पछिल्ला वर्षमा महिला बेचबिखन पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको भन्दै न्यूनीकरणका लागि चुनौतीहरू थपिएको अधिकारीहरूले बताएका छन्।

महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेको प्रहरी विवरणले देखाएको छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको जानकारहरू बताउँछन्।

प्रहरीका अनुसार केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरूमात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला ४/५ वर्षयता शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन्।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दुई दशकभन्दा लामो समयदेखि बेचबिखनमा पर्नसक्ने महिलाहरूको उद्धारका लागि विभिन्न कामहरू गर्दै आएका छन्। तर पछिल्लो पाँच वर्षकै तथ्याङ्क मात्रै हेर्ने हो भने पनि बेचबिखनमा परेका महिलाहरूको उजुरी प्रहरीसम्म आइपुगेका घटनामात्रै हेर्ने हो भन्ने बर्सेनि बढ्दो देखिन्छ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, “हामीसँग मानव बेचबिखनको ७१/७२ मा १८१, ७२/७३ मा २१२, ७३/७४ मा २२७ र ७४/७५ मा २६८ भएको देखिन्छ।” यो तथ्याङ्क मानव बेचबिखनको भए पनि यसमा ८० प्रतिशतभन्दा बढी महिला नै पीडित हुने गरेको थापाले बताए।

कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरूलाई फकाएर बेचबिखनका लागि भारतको मुम्बई लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे। अहिले त्यसको स्वरुपमा परिवर्तन आएको यस क्षेत्रमा काम गर्ने जानकारहरू बताउँछन्।

एसियादेखि ल्याटिन अमेरिकासम्म?

पछिल्लो चार/पाँच वर्षयता खासगरी नेपाली चेलीहरूसँग पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले विवाह गरेर लैजाने र धेरैजसोमा महिलाहरू पीडामा पर्ने गरेको माइती नेपालका कार्यबहाक अध्यक्ष विश्वराम खड्काले बताए।

यहाँबाट विवाह गरेर लगे पनि ती महिलाहरूलाई पछि घरमै बन्दी जस्तो बनाएर यातना दिने गरेको भन्दै थुप्रैको उद्धार पनि गरिसकिएको प्रहरी अनुभव छ।

यीबाहेक बेचबिखनमा आएको परिवर्तित शैलीबारे उनले भने, “वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुर्याइकन लैजाँदा श्रमशोषण, यौनशोषण हुने काममा लगाउने। विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेको भरमा बेचिन पुग्ने यस्ता खालका परिवर्तनहरू बेचबिखनमा देखापर्न थालेको छ।”

त्यसरी बेचबिखनमा पर्ने महिलाहरू भारतबाहेक एसियाका मलेसिया, इण्डोनेसिया, अफ्रिकाका केन्या, युगाण्डा अनि कतिपय मध्यपूर्वका देशहरूमा र त्यस्तै ल्याटिन अमेरिकाको ब्रजिलमा पनि पुगेको प्रहरीको भनाइ छ।

विकसित देशहरूमै पनि स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा तथा सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम रहेको प्रहरीको अनुभव छ।

त्यसको चुनौतीबारे प्रवक्ता थापाले भने, “यसको दायरा चाहिँ फैलिएको छ र सामाजिक सञ्जालमा पनि आमनागरिकको पहुँच भएकोले पनि वैदेशिक रोजगारीको नाममा पनि यो व्यवसाय फस्टाएको देखिन्छ।”

जानाजान जोखिममा
विगतमा अशिक्षित र गाउँका महिलाहरू बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र शहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरू बढेको बताइन्छ।

सामाजिक सञ्जालका माध्यमबाट हुने सम्पर्क डरलाग्दो रहेको प्रहरीको अनुभव छ।

“सामाजिक सञ्जालहरूमार्फत दलालहरूसँग सम्पर्क राख्ने, उनीहरूले फोटो पठाइदेऊ भनेपछि फोटो पठाइदिने, तपाईँको फोटो धेरै लुगा लगाएको भयो अलि कम लुगा लगाएको पठाइदिनुस् भने पछि त्यस्तै फोटो पठाइदिने र त्यसरी जाने पीडितहरू पनि देखेको छु।”

यसरी आफू जोखिममा पर्दैछु भनेर नि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरूलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको बताइन्छ।

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेका घटनाहरू पाइएको अधिकारीहरू बताउँछन्।

यस्ता घटनाहरू बढिरहेको र नियन्त्रण चुनौतीपूर्ण रहेको भन्दै प्रहरीले यो वर्षदेखि मानव बेचबिखन नियन्त्रण ब्यूरो भनेर विशिष्ट संरचना नै स्थापना गर्न लागिएको जनाएको छ।

-बीबीसी नेपालीबाट


सम्बन्धित शीर्षकहरु

इरानको सैन्य कमान्ड खातम अल–अन्बिया केन्द्रीय मुख्यालय (Khatam al-Anbiya Central Headquarters) का प्रवक्ताले सोमबार (१३ जुलाई) जारी गरेको विज्ञप्तिमा अमेरिकाले…

अमेरिकामा बस्दै आएका इरानी मूलका एक इन्जिनियरलाई अमेरिकी सरकारले नियन्त्रणमा राखेका प्रविधि इरानमा निर्यात गरेको अभियोगमा दोषी ठहर गरिएको छ।…

बैंगन (भण्टा) एक पौष्टिक र स्वास्थ्यका लागि लाभदायक तरकारी हो। यसमा फाइबर, भिटामिन, खनिज तथा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइने भएकाले…

प्रतिकृयाहरू
...