Friday 3rd July 2026

ट्रम्प प्रशासनको हालको कर नीतिले गुगल तथा फेसबुकमा पनि असर पर्ने


तितोपाटी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छेडेको व्यापार युद्ध सिलिकन भ्याली छिरेको छ ।

ट्रम्प प्रशासनले चीनबाट आयात हुने नेटवर्किङ उपकरणहरुमा कर लगाउने घोषणा गरेको छ ।

यसले ग्लोबल क्लाउड कम्प्युटिङ सेवाका लागि चिनिया उपकरण खरीद गरिरहेका कम्पनीहरुलाई समस्यामा पार्नेछ । गुगल, फेसबुक तथा अमेजनजस्ता कम्पनीहरु यसको मारमा पर्ने विश्लेषकहरु बताउँछन् ।

कम्प्युटर चिप निर्माता इन्टेलले पनि चिप निर्यातमा करवृद्धिको सामना गर्नुपर्नेछ । अमेरिकी कम्पनीहरुले समेत प्रायः कम्प्युटर चिप्सको एसेम्बलिङ, टेस्टिङ तथा प्याकेजिङका लागि चीनमा पठाउने गरेका छन् । अब चीनमा तयार भएका त्यस्ता चिप्स पुनः अमेरिका भित्राउँदा अमेरिकी कम्पनीहरुले ‘जरिवाना’ तिर्नुपर्नेछ ।

अमेरिकी ठूला प्रविधि कम्पनीहरु व्यापार युद्धको विपक्षमा उभिँदै आएका छन् । अब प्राविधिक उपकरण तथा सेवाको समेत कर लाग्ने देखिएपछि सिलिकन भ्यालीका नेताहरुको आवाज झनै प्रखर बन्ने देखिएको छ ।

अमेरिकामा २ खर्ब डलर मूल्यका मोडेम तथा राउटर्स जस्ता उपकरणहरु वर्षेनी चीनबाट भित्रिने गरेका छन् । आगामी अगष्ट ३० बाट यस्ता उपकरणमा १० प्रतिशत अतिरिक्त कर लाग्नेछ । यसले विश्वव्यापी रुपमा वस्तु तथा सेवा प्रदान गर्न वृहत सूचना प्रविधि सञ्जालको प्रयोग गरिरहेका प्रविधि उद्योगहरु समेत प्रभावित हुनेछन् ।

पछिल्लो १२ महिनामा अमेरिकामा आयात भएका २३ अर्ब डलर बराबरका आइटी नेटवर्क गिएरमध्ये आधाजसो चीनबाटै भित्रिएका छन् ।

यस्तो अवस्थामा कि त अमेरिकी प्रविधि कम्पनीहरुले चीन बाहेकका अन्य देशका उत्पादकहरुको विकल्प खोज्नुपर्नेछ वा मूल्यवृद्धिलाई आत्मसात गर्नुपर्नेछ । कतिपय उपकरण उत्पादक कम्पनीहरु त चीनबाट भियतनाम र मलेसिया जस्ता देशमा सर्न पनि सक्दछन् ।

यद्यपि फेसबुक, अमेजन तथा गुगल जस्ता कम्पनीहरुले अस्थायी तथा न्यूनदरको मूल्यवृद्धिलाई धान्न सक्दछन् । तर सबैभन्दा ठूलो चासो भनेको करवृद्धिबाट आपूर्ति श्रृंखलामा अवरोध हुने र वस्तु तथा सेवाको वितरणमा ढिलाई हुनेछ ।

अमेरिकाका ठूला सूचना प्रविधि उद्योगको साझा संस्था सूचना प्रविधि उद्योग आयोगले मोडेम तथा राउटर्सको आयातमा समेत करवृद्धि हुने ट्रम्प प्रशासनको पछिल्लो घोषणा सँगै चासो व्यक्त गरेको छ ।

प्रष्ट उद्धेश्य तथा दृष्टिकोण विना उल्लेखित उपकरणहरुमा थप कर लगाउने राष्ट्रपतिको निर्णयले अमेरिकी रोजगार तथा लगानीलाई खतरामा पार्नेछ, आयोगले भनेको छ ।

त्यस्तै सेमिकन्डक्टरमा २५ प्रतिशत भन्सार लगाउने सरकारी निर्णयपछि अमेरिकी चिप मेकर कम्पनीहरु पनि विरोधमा उत्रिएका छन् । चीनबाट आयात हुने कम्प्युटर चिप्स अमेरिकी कम्पनीकै उत्पादन भएको र फगत चिनिया आपूर्ति श्रृंखलामात्रैको उपयोग गरिएको उनीहरुको दाबी छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...