Saturday 12th September 2026

अोमान गएका धनुषाका एक युवा १० वर्षदेखि सम्पर्क विहिन


तितोपाटी – धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा गएका एक युवा दश वर्षदेखि सम्पर्कविहीन हुँदा सन्तान बिचल्लीमा परेका छन् । सिनुरजोडा गाउँका पल्टु यादव ओमान गएदेखि सम्पर्कमा नआउँदा बालबच्चा सहाराविहीन बन्न पुगेका छन् ।

यादव ओमान गएपछि उनकी श्रीमतीले इँटाभट्टामा काम गर्दा गाउँहरूले अनैतिक सम्बन्धको आरोप लगाएपछि उनले आत्महत्या गरेदेखि छोरी पुनिता टुहुरो भएकी छिन् । पुनिता भन्छिन्– “म र भाइ गाउँलेसँग बिन्ती गर्छौं, प्रशासनसँग बाबुको अवस्थाबारे बुझिदिन अनुरोध गर्छौं तर कसैले पनि हाम्रो गुनासो सुन्दैनन्् ।” हामीसँग बाबुको नागरिकता वा अन्य कागजपत्र नभएकाले जन्मदर्ता हुन सकेको छैन, विद्यालयमा नाम लेखाउन नसकेकाले पढाइबाट समेत वञ्चित भएको उनी बताउँछिन् ।

पुनिता अहिले १३ वर्षकी छिन् । उनलाई आफ्नो घरमा बस्नसमेत दिइएको छैन, मामाघरमा बस्दै आएकी छन् । बाबु विदेश जाने क्रममा जग्गा घितोमा राखी ऋण लिएको र ऋणको भार अधिक भएपछि साहुले जग्गामा अधिपत्य कायम गरेको पुनिताले बताइन् । वेदैशिक रोजगारीमा गएकाहरूले परिवारसँग सम्पर्क नगरेपछि अमानवीय घटनामा वृद्धि भइरहेको मनोपरामर्शदाता संगीता कर्ण बताउँछिन् । सुरक्षित आप्रवासन परियोजना र मित्र धनुषाका अनुसार यस जिल्लाबाट वैदेशिक रोजगारी गएकाको मृत्यु हुनेकोे संख्या पनि बर्सेनि बढ्दै गएको छ । सन् २०१२ देखि २०१६ सम्ममा यस जिल्लाबाट वैदेशिक रोजगारी गएकामध्ये १९९ जनाको मृत्यु भएको छ ।

यस जिल्लाबाट विशेषगरी मलेसिया, कतार, ओमान र साउदीमा रोजगारीमा जाने गरेको पाइन्छ । तथ्यांक अनुसार धनुषा जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धि भइरहेको देखिएको छ । परियोजना प्रमुख रामकुमार कर्ण आर्थिक वर्ष २०७० देखि २०७४ सालसम्ममा यस जिल्लाबाट एक लाख १६ हजार ७१७ जना वैदेशिक रोजगारीमा गएको बताउनुहुन्छ ।

यस जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्यामा वर्सेनि वृद्धिसँगै दलाल र कम्पनीबाट ठगिने गरेको घटना पनि बढ्दै गएको छ । परियोजनाका प्रशिक्षक देवकुमार मण्डल परियोजनाले व्यक्तिगत सूचना तथा परामर्श दिने व्यवस्था गरेपनि अधिकांशले परामर्श र सूचना नलिई जाने प्रवृत्तिले दलाल र कम्पनीबाट ठगिने गरेको प्रस्ट गर्नुहुन्छ ।

म्यानपावर कम्पनिहरुले रोजगारीमा जानेहरुसँग अधिक रकम लिने, सम्झौताअनुसार काम नपाउने गरेको र जोखिमपूर्ण काम गर्नु परेकाले अधिकांश युवा शारिरीक र मानसिक तनाबका कारण समयसमयमा घर आउने, परिवारसँग सम्पर्क नगर्ने प्रवृत्ति देखिएको छ ।

परियोजना प्रमुख कर्ण वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेमा कम उमेर भएको संख्या अधिक देखिएको बताउनुहुन्छ । कतिपय अभिभावकले आर्थिक उपार्जनको प्रलोभनमा परी कम उमेरका सन्तानलाई उमेर बढाई नागरिकता र राहदानी बनाउन लगाई वैदेशिक रोजगारीमा पठाउने पनि गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

कुवेत स्थित मेचिकाली समुह कुवेतबाट नेपालस्थित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा आर्थिक सहयोग पठाएको छ। Al Muzaini Exchange मार्फत…

कुवेतमा रहेका नेपालीहरूको संस्था बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पहलमा नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग पठाइएको…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

प्रतिकृयाहरू
...