Monday 21st July 2025

प्रदेशका मुख्यमन्त्रीहरूको अन्तर प्रदेश परिषद बैठक सिंहदरबारमा शुरू


तितोपाटी – प्रदेश सरकारहरु बनेको १० महिनापछि पहिलो पटक अन्तर प्रदेश परिषद् बैठक बसेको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको मुख्यमन्त्रीहरु प्रदेश सरकारले भोग्नु परेको समस्याहरुबारे आक्रामक रुपमा प्रस्तुत भएका छन् । संघ र प्रदेश तथा प्रदेश-प्रदशेबीच उत्पन्न हुने समस्या समाधानका लागि अन्तर प्रदेश परिषद् गठन हुने संवैधानिक व्यवस्था छ । संविधानतः परिषद्मा मुख्यमन्त्रीहरु र केन्द्र सरकारका गृहमन्त्री र अर्थमन्त्री सदस्य रहने हुने भएपनि पहिलो बैठकमा केन्द्र सरकारका अधिकांश मन्त्री र सचिव उपस्थित थिए ।

परिषद्को पहिलो बैठकमा प्रधानमन्त्री ओलीले संघीयतालाई चौडा सडकमा गुडेको मारुती भ्यानसँग तुलना गरे । प्रदेश संरचना सबैका लागि नयाँ अभ्यास भएकाले सुरुमा अपेक्षाकृत गति लिन नसकेको उनको बुझाइ थियो तर मुख्यमन्त्रीहरुले भने प्रदेश सरकारहरूले भोग्नु परेको समस्याहरु दह्रोसँग राखेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट सुरु भएको बोल्ने क्रम गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा आएर टुंगिएको छ । बाँकी तीन मुख्यमन्त्रीले भोलि बोल्नेछन् ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार सबैले कर्मचारी नपठाएकोमा गुनासो गरेका छन् । समयमै कर्मचारी समायोजन गरेको वा अन्तरिक संगठन संरचना (ओएनएम सर्वे) अनुसार कर्मचारी पठाएको भए सहज हुने उनीहरुले बताए ।

जवाफमा प्रधानमन्त्रीले कर्मचारी समायोजन अध्यादेश राष्ट्रपतिबाट आजै स्वीकृत भएको जानकारी गराएका छन् ।

मुख्यमन्त्रीहरूले बजेटमा पनि असन्तुष्टि जनाए । ‘उहाँहरुले बजेट पुगेन भन्नु भएको छ’ एक मन्त्रीले भने, ‘अहिले केन्द्रले ६० प्रतिशत राखेर तल ४० मात्र पठाएको छ । केन्द्रले ४० राखेर बाँकी तल पठाउनुपर्‍यो भन्ने उहाँहरुको मत देखियो ।’ केन्द्र सरकारले योजनाहरु पठाउने तर, बजेट थोरै मात्र पठाएकोमा पनि उनीहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश मुख्यमन्त्रीहरुले आ-आफ्नो प्रदेशले उठाएका समस्याहरु समयमै सम्बोधन नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले अन्तर प्रदेश समन्वय परिषद्को सचिवालय बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सहभागी एक मन्त्री भन्छन्, ‘मुख्यमन्त्रीहरु आक्रामक नै देखिनु भएको छ । उहाँहरुले शान्तपूर्वक तर, प्रष्टसँग आफ्नो कुरा राख्नु भएको छ, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ ।’

रक्षामत्क जस्तो देखिएका प्रधानमन्त्रीले भने ‘तपाईहरुले उठाउनु भएको समस्या बुझेको छु’ भनेका छन् ।

फागुनसम्म सबै कानून बनिसक्छन् : प्रधानमन्त्री

चार जना मुख्यमन्त्रीले धारणा राखिसकेपछि प्रधानमन्त्री ओलीले केहीबेर सम्वोधन गरेका थिए । संघीयताको अभ्यास नयाँ भएकाले यसमा चुनौतीहरु आउनु स्वाभाविकै भएको भन्दै प्रधानमन्त्री ओलीले सबै तहले मिलेर अगाडि बढ्नुपर्ने धारणा राखेको स्रोतले बतायो । कानून निर्माणको चुनौती प्रदेशहरुमा मात्रै नभएर संघमा समेत रहेको भन्दै प्रधानमन्त्री ओलीले फागुनसम्म केन्द्र सरकारले बनाउने कानूनहरु निर्माण भइसक्ने बैठकमा बताए ।

अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीयता कार्यान्वयनका लागि सरकारको गति भने बढाउनुपर्ने बताएका हुन् । ‘हामी गलत बाटोमा गएका छैनौं । संघीयता कार्यन्वयनमा गति बढाउन बाँकी छ’ प्रधानमन्त्री ओलीले भने ।

उनले नेपाल संघीयता कार्यन्वयनको प्रारम्भिक चरणमा भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नुपर्ने बताए । ‘मुख्यमन्त्रीको कार्यालय, प्रदेशमन्त्रीको कार्यालय, आवासजस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले तिनलाई व्यबहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौंला । खेलमा पस्नेवित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघियता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं ।’

ओलीले संघीयतालाई चौडा सडकमा गुडेको ‘मारुती भ्यान’ सँग तुलना गरेका छन् । ‘हामीले ठूलो रोड बनायौं, तर हामीसँग मारुती भ्यान छ,’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘छिटो दौडाउन खोज्यो भने भ्यान बतासिन्छ ।’


सम्बन्धित शीर्षकहरु

कुवेतबाट प्रकाशित मुलधारको अंग्रेजी दैनिक को एउटा होस उडाउने समाचार प्रकाशित भएको छ जसले भनेको छ की गत बर्ष २०२४…

मानाडो - इन्डोनेसियाको सुलावेसी टापुबाट आइतबार सयौं मानिसहरू बोकेको एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले…

तितोपाटी- नेपाली नारीहरूको महान पर्व  हरितालिका तीजको अवसर पारेर  पाल्पाली समाज युएईले अथिति कलाकारको साथमा भब्य रुपमा मनाउने भएको छ।…

प्रतिकृयाहरू
...