Wednesday 15th July 2026

श्रम स्वीकृतिको लागि लाइन बस्न नपर्ने, अनलाइन टोकन सेवा सुरु


तितोपाटी डट कम-वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गरिएको कार्यालयले जनाएको छ ।टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले बताउनुभयो।तोकेको मिति र समयमा सेवाग्राही सेवाका लागि आएमा घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने उहाँको दावी छ । यस्तो सेवाका लागि सेवाग्राही आफंैले फाराम भर्न सक्नेछन् ।

सरकारले गएको असोज १५ देखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट सेवा दिने तयारी गरेको भए पनि ताहाचलबाट भने अझैसम्म यस्तो सेवा सुरु हुन सकेको थिएन।यसैगरी, कार्यालयबाहिर रहेका बिमा कम्पनीमार्फत पनि सेवा लिन सकिनेछ । सेवाग्राहीले फाराम स्क्यानिङ गरेर आफ्नो युजर र आईडीबाट अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ । वैदेशिक रोजगार कार्यालयले एक दिनमा ९ सयदेखि ९५० जनासम्मलाई सजिलै यस सेवा दिन सक्ने जनाएको छ ।

सरकारको यस्तो नयाँ व्यवस्थाले अब सेवाग्राहीलाई सानो कामका लागि पनि दिनभर लामो लाइनमा बस्ने झन्झटबाट मुक्त गर्ने विश्वास गरिएको छ । यति मात्र नभई बिचौलिया र कर्मचारीको मिलेमतोमा हुने कामदार ठगीलगायत सबै समस्या स्वतः निवारण हुने कार्यालयले दावी गरेको छ।यस कार्यालयले बिहीबारदेखि आफ्नो भवन परिसरभित्र पिउने पानीको व्यवस्थासमेत गरेको छ । यसैगरी, सेवाग्राहीलाई काम सम्पन्न नहुन्जेल बस्ने बेन्च पनि थपेको जनाएको छ । यसैगरी, घामपानीबाट बच्नका लागि सेड निर्माणको अन्तिम तयारी भइरहेको पनि कार्यालय प्रमुख खतिवडाले जानकारी दिनुभयो।पछिल्लो समयमा वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राहीको अत्यधिक भीड बढेको छ । घर विदामा आएका कामदार फर्किने भएकाले श्रम स्वीकृत लिनेको भिड बढेको बताउँदै खतिवडाले सेवाग्राहीले सास्ती पाएका कारण आइतबारदेखि पूर्णरूपमा अनलाइन प्रणालीबाट सेवा दिने बताउनुभयो।यस्तै सरकारले छिट्टै सातवटै प्रदेशबाट वैदेशिक रोजगारीसम्बन्धी सबै सेवा दिने तयारी पनि थालेको छ ।
-उज्यालोबाट साभार


सम्बन्धित शीर्षकहरु

कुवेतमा जुलाई १६ पछि वर्षकै सबैभन्दा तातो मौसम सुरु हुने भएकाले विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले नागरिक र बासिन्दालाई…

“आपसी एकता हाम्रो उद्देश्य, समृद्ध समाज निर्माण हाम्रो लक्ष्य” भन्ने मूल नाराका साथ सन् २०१७ मा स्थापना भएको नुवाकोट धादिङ…

पश्चिम बंगाल सरकारले सन् २०११ देखि सन् २०२५ को मे महिनासम्म राज्य सरकारका विभिन्न निकायमा भएको भनिएको भ्रष्टाचारको छानबिन गर्न…

प्रतिकृयाहरू
...