Saturday 17th January 2026

अाज छठ पर्वको मुख्य दिन अस्ताउँदो सुर्यलार्इ अर्घ दिइने


तितोपाटी – चार दिन सम्म मनाउने छठ पर्वको आज मुख्य दिन हो । तराई–मधेसलगायत मुलुक भरका नदी, खोला, पोखरी र नहर किनारलाई ब्रतालु एवं आगन्तुकको स्वागतमा झकिझकाउ पारिएको छ ।आज ब्रतालु तथा परिवारजनले घरघरमा बिहानदेखि लोकप्रिय प्रसाद ठेकुवा, भुसुवा, खाजा भनिने एक प्रकारको मिठाई एवं पुरी तयार पार्छन् । अपराह्न घरको गनलाई लिपपोत गर्छन् । आँगनमा बाँसको नांग्लो र ढाकी मिलाएर राख्छन् ।

नांग्लोमा पुजा सामग्री सजाउँछन् । एक पटक घरमै पुजा गरेपछि सामग्रीसहितको नांग्लोलाई पुन: ढाकीमा सजाउँछन् । प्रसाद झर्न नदिनलाई ढाकीलाई सफा कपडाले मजाले बाँध्छन् । त्यसमाथि सावधानीकासाथ बलिरहेको दियो राख्छन् । यसपछि नयाँ पहिरनमा ब्रतालुसहित सारा परिवार पुजा सामग्री बोकेर छठ गीत गाउँदै घाटतिर लाग्छन् । प्रसादले भरिएको ढाकी भने जिम्मेबार व्यक्तिलाई बोक्न लगाउँछन् ।

लोक आस्थाको यो पर्वको तेस्रो दिन मंगलबार साँझ एवं चौथो दिन बुधबार बिहान झिलिमिली सिंगारिएको जलाशय किनारमा सम्पूर्ण पवित्र सामग्रीसहित पुगेपछि ब्रतालु एवं परिवारजनले सूर्यदेवलाई अर्घ्य दिन्छन् । बिहानीको अर्घ्य लगतै छठ माताको महिमाको कथा वाचनसहित चार दिने धार्मिक अनुष्ठानको समापन हुन्छ । अटल सौभाग्यको कामना गर्दै महिला ब्रतालुले एक अर्काको निधारमा रातो टीका पनि लगाइदिन्छन् ।

अन्तिम दुई दिन घाट भनिने नदी, पोखरी एवं नहर किनारमा दिपावलीझैं माहोल हुन्छ । केहि दिन अगाडिदेखि नै घाटको सरसफाइ, निर्माण र सजावटमा स्थानीयवासी लाग्छन् । लक्ष्मी पुजामा घरलाई सजिसजाउ पारे झैं यतिखेर घाटलाई झिलिमिली बनाउँछन् । तराई–मधेसमा घाटमा लहरे केराको बोट गाडेर दियो बालिने हुनाले दुरुस्त दिपावलीकै माहोल हुन्छ ।

बिहानीको पुजापछि अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं ठेकुवा, भुसवा एवं गेडागुडी मिश्रित प्रसाद माग्न आउनेको घाटमा ओइरो लाग्छ । न दिने थाक्छन्, न त माग्ने नै । प्रसाद बाँड्दा धर्म हुने विश्वास गरिन्छ । त्यसैगरी प्रसाद मागेर खानेलाई पुजा गर्ने जतिकै जति पुण्य हुने धार्मिक मान्यता छ ।

भरपुर आस्थाकासाथ प्रसाद माग्न आउने, बाँडने एवं मुख्य उपासकलाई ढोकेर आशीष लिने क्रम घरदेखि घाटसम्म निरन्तर चल्छ । ब्रतालुले आइतबार बिहान स्नानपछि शुद्ध शाकाहारी भोजन ग्रहण गरी यो पर्व सुरु गरेका हुन् । चार दिनसम्म मनाइने सूर्य उपासनाको महापर्व छठको दोस्रो मुख्य दिन सोमबार साँझ छठ ब्रतालुले घरघरमा ‘खरना’ पुजा गरे ।

पहिलो दिनको स्नानपछि शाकाहारी भोजन खाएपछि पूर्णरुपले उपवास बसेका छठका ब्रतालुले परिवारजन एवं छरछिमेकको सहयोगले साँझ नपर्दै खिरपुरी तयार पारे । मधेसतिर यो पर्वकै प्रयोजनकोलागि निर्मित माटोको एक छुट्टै चुल्होमा मुख्य उपासक महिलाको नेतृत्वमा ती चढावा तयार पारिन्छ ।

ब्रतालुले सोमबार साँझ घरको एक शान्त कोठालाई लिपपोत गरे । त्यसपछि भूइमा केराको पात फिजाएर त्यसमाथि खिरपुरी र केरा राखे । धुपदीप बालेर चन्द्र, सूर्य र भगवान सूर्यकै भगवती रुप मानिने छठी माताको मौन पुजा गरे । होहल्लाले पुजा भंग हुने आस्थाका कारणले ब्रतालुले कोठाको ढोका थुनेरै आराधना गर्छन् । देवीदेवतासँग गरेको कामना बारे उनले कसैलाई पनि बताउँदिनन् ।

घरको आँगन र बरन्डामा बसेर परिवारजन, छरछिमेक एवं पाहुनाले पुजा समाप्तिको प्रतिक्षा गरिरहेका हुन्छन् । घरमा छठ नहुने विवाहित छोरीचेली पनि यतिखेर माइत आउँछन् । टाढा घर भएका आफन्तजन एवं मितमितेनीलाई ब्रतालु परिवारले आमन्त्रण गर्छन् ।

खरना पुजा सम्पन्न भएपछि ब्रतालुले प्रसाद ग्रहण गर्छन् । उपस्थित सबैलाई बाँडछन् । छठ पुजाको मुख्य दिन अगाडीको यो एक महत्वपूर्ण धार्मिक विधि हो । यो धार्मिक अनुष्ठानपछि ब्रतालुको ३६ घण्टे निर्जल उपवास सुरु हुन्छ । सूर्यदेवको पुजाकालागि अर्को दिन बेलुकी पख र भोलिपल्ट बिहान घरबाट नजिकैको जलाशय किनारमा पुग्ने सम्झनाले ब्रतालु एवं आफन्तजनलाई रातभरी निन्द्रा लाग्दैन ।


सम्बन्धित शीर्षकहरु

निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै…

कुवेतको Public Authority for Manpower (जनशक्ति प्राधिकरण) ले कर्मचारी बहिर्गमन अनुमतिपत्र (Exit Permit) प्रक्रियालाई सहज बनाउन पूर्व-अनुमोदन सुविधा लागू गरेको…

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

प्रतिकृयाहरू
...