Saturday 4th May 2024

नेकपाको प्रदेशसभा सांसदलाई सहकर्मीकै झापड


दुर्वव्यवहार गरेपछि झापड हानेँ-मन्जु : सांसद पद खारेज गराउछौं-मण्डल

जनकपुरधाम -प्रदेश २ को नेकपा संसदीय दलको कार्यालयमा मंगलबार भएको झापड प्रकरणलाई लिएर पार्टीभित्र विवाद बढेको छ ।

महोत्तरीकी प्रदेशसभा सदस्य मन्जु यादवले धनुषाका सदस्य किशोरी साहलाई एक झापड हानेकी थिइन् ।

प्रदेशसभा सदस्य किशोरी साहले यादवमाथि कारवाहीको माग गरेका छन् भने मञ्जुले भने दलका नेता सत्यनारायण मण्डलकै उक्साहटमा आफूमाथि दुर्व्यवहार भएपछि प्रतिवाद गरेकी छन् ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मण्डल र किशोरी साहले आफूलाई अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको र सहन नसकेपछि प्रतिवाद गरेको सांसद मञ्जुले अनलाइनखबरलाई बताइन् ।

उनले भनिन् ‘मलाई गरीब महिला भनेर हेप्ने र सुन्नै नसक्ने अपशब्द प्रयोग गर्ने काम भयो । दलको नेतासँग सवाल जवाफ भइरहेका बेला किशोरी साह आएर तँ बकबक गर्दैछेस्, अब पनि बोलिस् भने २ झापट हान्छु भने । मैले झापड भनेको के हो ? भन्दै एक झापड हानेर देखाएकी हुँ ।’

प्रदेशसभा भवनभित्र रहेको नेकपा संसदीय दलको कार्यालयमै भएको यो घटनापछि मण्डल र साह बाहिरिएका थिए । नीति तथा कार्यक्रममा आफ्ना कुरा समावेश गर्न कम्प्युटर अपरेटरसँग कुरा भइरहेका बेला मण्डल आएर आफूलाई गालीगलौज गरेको उनले बताइन् ।

यसैबीच संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश सांसद मञ्जु यादवको सांसद पद र संगठित सदस्यता खारेजीका लागि माग भइरहेको र केन्द्रमा जानकारी गराउने बताएका छन् । उनले मञ्जु यादवमाथि कारवाही नभए आफूहरु बाहिरिने चेतावनी समेत दिएका छन् ।

प्रदेशसभाका सांसद सत्रुघन महतो र केन्द्रीय सदस्य योगनारायण यादवको उक्साहटमा सो घटना गराएको आरोप मण्डलको छ । महतो र यादव दवैजना नेकपाका केन्द्रीय सदस्य हुन् । महतो मण्डलसँग तत्कालीन एमालेको संसदीय दलको नेतामा पराजित भएका थिए ।

मण्डलले भने ‘केही अपराधिक मानसिकताका नेताको उक्साहटमा ती महिलाले पागलपन देखाइन् । महिला भएकाले हामीले केही प्रतिवाद गर्न मिलेन । अहिले त केन्द्रीय कमिटीबाहेक पार्टीमा कुनै निकाय छैन । तर, अब संगठित सदस्यता र समानुपातिक सांसद पद खारेजीको पहल गर्छौं । हाम्रो पहल सफल भएन भने आफैं छाडेर हिड्छौं ।’

अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...