नारायण प्रसाद पोख्रेल – एउटा गाउँमा गरिब बाबुआमाका ३ सन्तान थिए । पहिलो सन्तान छोरा ,उ पछिको छोरी र कान्छो सन्तान छोरा । अभावले गर्दा जेठो छोरा र छोरीले ५ कक्षा भन्दा बढी पढ्न पाएनन । छोरीको सानै उमेरमा बिहे गरिदिए। जेठो छोराको जोडबलले कान्छोले पढाई लेखाई गर्ने मौका पायो । गाउँको स्कूलबाट १० पास गरेपछि क्याम्पस लेभल पढाउनको लागि जेठोले भाइलाई शहरमा पठायो र आफु मजदुरी गर्दै बाउआमासंग बसेर उनीहरुको सेबा गर्न थाल्यो । उसले भाइलाई पढाउनको लागि उसको मजदुरीले मात्र नपुगेर धेरै ठाउँमा ऋण समेत लिएको थियो ।
कान्छोले पढाई सके पछि शहरमा ठुलो कम्पनीमा जागिर पायो । धन कमाउन थालेपछि उसले आफ्नो कमाइ बाट शहरमा घर किन्यो । ठुलो कहलिएको कम्पनीमा जागिर गर्ने भएकाले उतै शहरमा राम्रै खानदानकी केटीसंग बिहे पनि गर्यो । पढाई सकेर भाइले राम्रो जागिर गर्दैछ भन्ने कुरा थाहा पाएपछि उसका बाबुआमा र ठुलो दाईको खुशीको सिमा थिएन । अब त सुखका दिन आउने भए भन्दै सबै जना खुशी थिए । एकदिन कान्छोले श्रीमती लिएर गाउँमा गयो । साँझको खानपिन पछि सबै जना बसेर दुःख सुखका कुरा गर्न थाले । ढल्नै लागेको घरको छानो फेर्नुपर्ने र अलिकता भएको ऋण तिर्नुपने कुरा चल्दै थियो, कान्छोले भोलि कुरा गरौला भन्दै सुत्ने तरखरमा लाग्यो ।
बिहानै उठेर उनीहरु शहर जानको लागि तयार भए । उसकी श्रीमतीलाई गाउँको परिवेश ठिक नलागेको कारणले शहर जाँदै गर्दा भाइले भन्यो, यति धेरै ऋण किन लगाउनु भयो ? हाम्रो पनि शहरमा ठुलो खर्च छ । बरु मेरो भागमा आउने सम्पति बेचेर ऋण तिर्नुस । मलाई यहाँबाट केहि चाहिदैन । त्यसपछि उनीहरूबीच आवतजावत र सम्पर्क हुन छाड्यो ।
केहिसमय पछि बाबुआमा दुवै निकै थला परेका थिए तर खबर पठाउँदा पनि उनीहरु आएनन । ठुलेले केहि पाखो बारी बेचेर र जेनतेन गरेर बाबुआमाको उपचार गरेको थियो । अर्को बर्ष कान्छो ठुलो दुर्घटनामा पर्यो । उपचार गर्दा गर्दै उसको कमाइले जोडेको घर पनि बेच्नुपर्ने भयो । उसले दुवै खुट्टा गुमाएको थियो ।
अब त उ जागिर गर्न सक्ने अबस्थामा पनि थिएन । श्रीमतीले पनि उसलाई छोडेर गईछे । बाबाआमा र दाईलाई त उसले पहिले नै छोडिसकेको थियो । उसंग भएको धन सम्पति घर सबै उपचारमा खर्ची सकेको थियो । अब उसंग बाकी थियो त केवल अशक्त शरीर । एउटा कमजोर मानिस जो आफै बाथरुम सम्म पुग्न सक्दैन, त्यस्तो अबस्थामा कान्छो भार्इ अस्पतालको शैय्यामा थियो । उसको यस्तो अबस्थाको बारेमा गाउँमा उसका घरमा कसैले खबर पुर्याइदिए । भाइको अवस्था थाहा पाउनासाथ ठुले तुरुन्तै शहरको अस्पतालमा पुग्यो अनि आफ्नो भाइलाई बोकेर घरमा लिएर आयो ।