Tuesday 24th November 2026

गीति कविता: हृदयका शब्दहरू


धनको मोह छैन मलाई, छैन वैभवको चाहना,
पदको घमण्ड छैन मनमा, छैन यशको कामना।
साधारण मानव हुँ म, संवेदनाको दीप बोकी,
हृदयभित्र राखेको छु, प्रेमको संसार रोपी।।

कलम चल्छ भावनाले, शब्द बन्छन् जिन्दगी,
कहिले आँसु पोखिएला, कहिले हाँसो बन्दगी।
लेख्दिनँ म अरूलाई, क्षणभरि हँसाउन मात्रै,
आफ्नै मनको वेदनालाई, अक्षरमा सजाउनलाई।।

कहिले विगत बोल्छ यहाँ, कहिले वर्तमान रुन्छ,
कहिले टुटेका सम्बन्ध, सम्झनाभित्रै डुब्छन्।
कहिले मौन पीडाहरूले, मनको ढोका ढकढक्याउँछन्,
कहिले हराएका मान्छे, कविताभित्र फर्किआउँछन्।।

सबै कुरा हराए पनि, मानवता नहराओस्,
संसारभरि पीडित मनले, प्रेमको स्पर्श पाओस्।
ओठमा मुस्कान छरियोस्, दुःखी मनमा आशा जागोस्,
मेरो लेखनको सफलता, मानवताको रक्षा बनोस्।।

न पद चाहिन्छ मलाई, न त प्रशंसाको माला,
न स्वार्थको कुनै बाटो, न प्रसिद्धिको ज्वाला।
आफैँलाई बुझ्न सकूँ म, अरूको मन बुझाउन,
अँध्यारोमा दीप बालूँ, मानवता जगाउन।।

मेरो कविता मेरो परिचय, भावना मेरो पहिचान,
शब्दभित्र बाँच्छ सधैँ, मानवताको स्वाभिमान।
जिन्दगीले जे दिए पनि, प्रेम बाँडिरहूँ म,
मानवताको गीत लेखी, संसारभरि छरिरहूँ म।।

✍️ सर्जक: गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

बेइजिङ, २३ नोभेम्बर। चीनले विकास गरेको नयाँ विद्युतीय यात्रुवाहक विमानले पहिलो पटक मानवसहितको परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ। चीनको…

तेहरान, २३ नोभेम्बर। अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री तेल आपूर्ति मार्ग होर्मुज जलडमरुमा तनाव थप चुलिएको…

लगातार दुई संस्करणमा उपविजेतामा सीमित बनेको सुदूरपश्चिम रोयल्सले अन्ततः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ। कीर्तिपुरस्थित…

प्रतिकृयाहरू
...