अमेरिकी राजनीतिक टिप्पणीकार टकर कार्लसनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले केही दिनभित्रै इरानमाथि परमाणु आक्रमण गर्न सक्ने दाबी गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई यस्तो आक्रमणका लागि निरन्तर दबाब दिइरहेको आरोपसमेत लगाएका छन्।
कार्लसनले सोमबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको टिप्पणीमा मध्यइरानस्थित ‘पिक्याक्स माउन्टेन’ लाई सम्भावित निशाना बताएका छन्। उक्त क्षेत्रमा इरानले भूमिगत रूपमा आणविक संवर्धन कार्यक्रम पुनः सञ्चालन गरेको इजरायली गुप्तचर निकायको दाबी रहेको उनको भनाइ छ।![]()
उनका अनुसार उक्त स्थानका सुरुङहरू करिब ३०० फिट बाक्लो ग्रेनाइट चट्टानमुनि रहेकाले परम्परागत हतियारबाट ध्वस्त पार्न कठिन छ। त्यसैले परमाणु हतियार प्रयोग गर्ने विकल्पबारे अमेरिकी प्रशासनमा छलफल हुन सक्ने उनले दाबी गरेका छन्। तर यस दाबीको स्वतन्त्र पुष्टि भएको छैन।
कार्लसनले नेतन्याहुले ट्रम्पलाई यस विषयमा दैनिक फोन गर्ने गरेको एक अज्ञात स्रोतलाई उद्धृत गर्दै बताएका छन्। उनले इजरायलको पछिल्लो निर्वाचनपछि नेतन्याहुको राजनीतिक भविष्य अनिश्चित बनेकाले युद्धलाई निरन्तरता दिन उनको स्वार्थ जोडिएको आरोप पनि लगाएका छन्।
यद्यपि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विशेष दूत स्टिभ विटकफले इरानसँग कूटनीतिक सम्झौता सम्भव रहेको भन्दै ट्रम्पलाई वार्ताकै बाटो अपनाउन सुझाव दिइरहेको कार्लसनको दाबी छ। उनले आगामी नोभेम्बर ७ सम्ममा ट्रम्पले परमाणु हतियार प्रयोग गर्ने वा नगर्ने निर्णय लिन सक्ने बताएका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका बाँकी आणविक केन्द्रमा आक्रमण गर्ने सैन्य योजना रहेको सार्वजनिक रूपमा बताएका भए पनि परमाणु हतियार प्रयोग गर्ने निर्णय भएको कुनै आधिकारिक घोषणा गरेका छैनन्। यसअघि उनले इरानविरुद्ध परमाणु हतियार प्रयोग नगर्ने अभिव्यक्तिसमेत दिएका थिए।