ओरोमिया क्षेत्रमा घरघरमा पसेर गोली र चक्कु प्रहार; २० भन्दा बढी घरमा आगजनी, सामूहिक चिहानमा ३३ शव भेटिएको प्रमाणित
अदिस अबाबा, २ नोभेम्बर। अफ्रिकी मुलुक इथियोपियाको ओरोमिया क्षेत्रमा सशस्त्र समूहले गरेको दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा ६० जना अर्थोडक्स इसाईको हत्या भएको छ। मारिनेमा महिला, वृद्धवृद्धा तथा बालबालिकासमेत रहेको इथियोपियन अर्थोडक्स तेवाहेदो चर्चले जनाएको छ।
चर्चको पवित्र धर्मसभाका अनुसार अक्टोबर २० मा मर्ती जिल्लाको गोरा सिलिङ्गो क्षेत्रमा भएको आक्रमणमा १४ जनाको ज्यान गएको थियो। त्यसैगरी अक्टोबर २४ मा शिर्का जिल्लाका तेरेटा, चोले र बिर्बो क्षेत्रमा भएको अर्को आक्रमणमा ४६ जनाको हत्या भएको थियो। घटनामा २० भन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन् भने २० भन्दा बढी घरमा आगजनी गरिएको छ।
घरघरमा पसेर हत्या र आगजनी
स्थानीय बासिन्दाका अनुसार हतियारधारी आक्रमणकारीहरू घरघरमा प्रवेश गरेर बन्दुक र चक्कु प्रयोग गरी मानिसहरूको हत्या गरेका थिए। उनीहरूले महिला, वृद्धवृद्धा र बालबालिकालाई समेत निशाना बनाएको प्रत्यक्षदर्शीहरूको भनाइ छ। आक्रमणपछि स्थानीय बासिन्दाहरू ज्यान जोगाउन नजिकका चर्च तथा सुरक्षित स्थानतर्फ भागेका थिए।
सामूहिक चिहानमा ३३ शवको प्रमाण
सेन्टर फर इन्फर्मेसन रेजिलियन्स नामक अनुसन्धान संस्थाले अक्टोबर ३० मा सार्वजनिक गरेको प्रतिवेदनमा शिर्का जिल्लाको चोलेस्थित सेन्ट रुफाएल अर्थोडक्स चर्चनजिक सामूहिक चिहान रहेको दृश्य प्रमाणित गरेको छ। भूस्थान पहिचान र भिडियो विश्लेषणबाट चिहानमा कम्तीमा ३३ वटा शव देखिएको संस्थाको निष्कर्ष छ। तीमध्ये केही शव बालबालिकाका हुन सक्ने देखिएको छ। यद्यपि, अनुसन्धान संस्थाले भिडियोबाट सबै ४६ जनाको मृत्यु वा हत्याको वास्तविक कारण स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको स्पष्ट पारेको छ।
आक्रमणको जिम्मेवारी कसको ?
घटनाको जिम्मेवारी र उद्देश्यबारे विवाद देखिएको छ। ओरोमिया क्षेत्रीय सरकारले उत्तरी टिग्रे क्षेत्रका विद्रोही समूहसँग सम्बन्धित गठबन्धनले धार्मिक द्वन्द्व भड्काउने उद्देश्यले आक्रमण गरेको आरोप लगाएको छ। तर सरकारले यस आरोपको समर्थनमा सार्वजनिक प्रमाण प्रस्तुत गरेको छैन। अर्कोतर्फ, विद्रोही गठबन्धनसँग सम्बन्धित एक स्रोतले हत्याका लागि क्षेत्रीय सरकारलाई जिम्मेवार ठहर गरेको छ। ओरोमो लिबरेसन आर्मीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
ओरोमिया इथियोपियाको सबैभन्दा ठूलो क्षेत्र हो। यहाँ लामो समयदेखि सरकारी सुरक्षा बल र सशस्त्र विद्रोही समूहबीच द्वन्द्व जारी छ। यस क्षेत्रमा अर्थोडक्स इसाई समुदायमाथि यसअघि पनि आक्रमण, विस्थापन र धार्मिक संरचनामा क्षति पुगेका घटनाहरू सार्वजनिक हुँदै आएका छन्।
धार्मिक स्वतन्त्रता र नागरिक सुरक्षामाथि प्रश्न
इथियोपियन अर्थोडक्स चर्चले घटनाको निन्दा गर्दै सरकारले प्रभावित समुदायको सुरक्षा सुनिश्चित गर्न, हत्याको निष्पक्ष अनुसन्धान गर्न र दोषीलाई कानुनी कारबाही गर्न माग गरेको छ। इथियोपियाका क्याथोलिक धर्मगुरुहरूले पनि हिंसा अन्त्य गर्न आह्वान गरेका छन्।
यस घटनाले द्वन्द्वग्रस्त क्षेत्रमा धार्मिक अल्पसङ्ख्यक समुदायको सुरक्षा र नागरिकमाथि हुने हिंसाको अन्तर्राष्ट्रिय निगरानीसम्बन्धी प्रश्न फेरि उठाएको छ। तर यसलाई केवल धार्मिक नरसंहारका रूपमा अन्तिम निष्कर्षमा पुर्याउनुअघि आक्रमणकारीको पहिचान, उद्देश्य र घटनाक्रमको स्वतन्त्र अनुसन्धान आवश्यक छ।