संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको छ।
समाजको शुक्रबार बसेको बैठकले संखुवासभा मादी नगरपालिका–३ माचखर्कका दिलबहादुर गुरुङलाई उपचार सहयोगस्वरूप रु. ५० हजार १९९ प्रदान गर्ने निर्णय गरेको हो। गुरुङ हाल भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराइरहेका छन्।
समाजका अध्यक्ष विजय लामाले कार्यक्रम आयोजनाभन्दा आवश्यकतामा परेका व्यक्तिलाई सहयोग गर्नु बढी अर्थपूर्ण ठानेर यस्तो निर्णय गरिएको बताए। अध्यक्ष लामाले आगामी दिनमा पनि मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
समाजले स्थापनाकालदेखि नै संखुवासभालाई मात्र नभई देशका विभिन्न स्थानका पीडित तथा समस्यामा परेका नेपालीलाई समय–समयमा सहयोग गर्दै आएको जनाएको छ।