Saturday 10th October 2026

बाँदरको समस्याका कारण मकैखेती छाडेर व्यावसायिक अदुवाखेती सुरु


किसानमध्ये कतिपयले यसबाट राम्रो आम्दानीसमेत गर्न थालेका छन्। तर बाँदरको आतङ्कले यस क्षेत्रको ठूलो परिमाणको खेतीयोग्य जमिन बाँझै रहेको स्थानीयको गुनासो छ।

स्थानीय किसान पदम राईले बाँदरको समस्याका कारण मकैखेती छाडेर व्यावसायिक अदुवाखेती सुरु गर्नुभएको हो। उहाँका अनुसार बाँदरले अदुवा नखाने भएकाले यसको खेती गर्न सहज भएको छ। उहाँले वार्षिक १० देखि ११ क्विन्टलसम्म अदुवा उत्पादन गर्दै आउनुभएको छ। अदुवासँगै लसुन र बेसारखेतीबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो।

शिक्षण पेसा छाडेर कृषिमा लाग्नुभएका अर्का किसान तिलक राई पनि अदुवा तथा बेसारखेतीमा संलग्न हुनुहुन्छ। उहाँका अनुसार विष्णुपादुकामा अहिले दुई सयभन्दा बढी किसान अदुवाखेतीमा आबद्ध छन्। यहाँ उत्पादित अदुवा र बेसार धरानस्थित कृषिउपज बजार तथा धरान–११ को मङ्गलबारे बजारमा बिक्री हुने गरेको छ।

कुनै समय अम्लिसो उत्पादनका लागि परिचित विष्णुपादुकामा बाँदरले अम्लिसोका कलिला मुनासमेत खाइदिन थालेपछि यसको खेती घट्दै गएको स्थानीय बताउँछन्। मकै र कोदोखेतीसमेत प्रभावित हुँदा किसान वैकल्पिक बाली खोज्न बाध्य भएका छन्।

धरान–२० का स्थानीय ध्रुव साम्पाङ राईका अनुसार बाँदरको आतङ्कका कारण यस क्षेत्रको करिब ८० प्रतिशत जग्गा बाँझो रहेको छ। बाली जोगाउन दिनरात निगरानी गर्नुपर्ने भएपछि खेतीपाती गर्न कठिन भएको उहाँको भनाइ छ। बाँदर नियन्त्रणका लागि विगतमा गरिएका प्रयास प्रभावकारी नभएको उल्लेख गर्दै उहाँले दीर्घकालीन समाधानका लागि सरकारले स्पष्ट नीति र योजना ल्याउनुपर्नेमा जोड दिनुभयो।

यसैबीच, धरान कृषिउपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार यस वर्ष अदुवाको मूल्य गत वर्षको तुलनामा बढेको छ। धरान बजारमा कोशी प्रदेशका धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङलगायत पहाडी जिल्लाबाट अदुवा बिक्रीका लागि आउने गरेको छ। बजारबाट दैनिक एक सयदेखि दुई सय मेट्रिक टनसम्म अदुवा बिक्री हुने गरेको उहाँले जानकारी दिनुभयो।

बाँदरको समस्याले परम्परागत खेती सङ्कटमा परिरहेका बेला अदुवा र बेसार विष्णुपादुकाका किसानका लागि वैकल्पिक आम्दानीको माध्यम बनेका छन्। तर किसानलाई बाध्यतावश बाली परिवर्तन गर्नुपर्ने अवस्थाबाट मुक्त गर्न बाँदर नियन्त्रण, खेतीयोग्य जमिनको संरक्षण र कृषि उत्पादनको बजारीकरणमा प्रभावकारी सरकारी पहल आवश्यक देखिएको छ।


सम्बन्धित शीर्षकहरु

रुसले युक्रेनको दक्षिणपूर्वी शहर जापोरिज्झियामा गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका रहेको स्थानीय…

न्यायको सर्वोच्च आसनमा बस्ने व्यक्ति नै जनविश्वासको कठघरामा उभिनुपर्ने अवस्था लोकतन्त्रकै दुर्भाग्य हो। चोलेन्द्रशमशेर जबराको कार्यकाललाई सम्झिँदा उठ्ने प्रश्न यही…

फ्रान्सभर जारी विद्यार्थी आन्दोलनका बीच सरकार दबाबमा परेको छ। विद्यालयमा शिक्षक अभाव, भीडभाडयुक्त कक्षा, जीर्ण शैक्षिक पूर्वाधार तथा शिक्षा क्षेत्रमा…

प्रतिकृयाहरू
...