भारतको युवा नेतृत्वको ककरोच जनता पार्टी (CJP) का संस्थापक अभिजीत दिपके लाई शनिबार नयाँ दिल्ली आइपुग्नेबित्तिकै प्रहरीले विमानमै चढेर नियन्त्रणमा लिएको पार्टीले जनाएको छ।
निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमार को राजीनामा माग्दै आयोजना गरिएको प्रदर्शनअघि दिपकेसहित अन्य नेताहरूलाई पनि पक्राउ गरिएको बताइएको छ। प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको, मोबाइल इन्टरनेट बन्द गरिएको तथा धेरै प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
सामाजिक सञ्जालबाट चर्चामा आएको CJP ले यसअघि शिक्षा मन्त्रालयसँग सम्बन्धित परीक्षा प्रश्नपत्र चुहावट प्रकरणविरुद्ध आन्दोलन गरी तत्कालीन शिक्षामन्त्रीको राजीनामा गराउन सफल भएको थियो। यसपटक पार्टीले निर्वाचन आयोगले लाखौं योग्य मतदातालाई मताधिकारबाट वञ्चित गरेको आरोप लगाएको छ।
यद्यपि सरकार र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले यी आरोपहरू अस्वीकार गर्दै आन्दोलनलाई देश अस्थिर बनाउने प्रयासको संज्ञा दिएका छन्।