पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइ माग्दै उनका हजारौँ समर्थकले राजधानी इस्लामाबादतर्फ लामो मार्च सुरु गरेका छन्। पाकिस्तान तहरीक–ए–इन्साफका समर्थकहरूले आइतबार खैबर पख्तुनख्वाको लक्की मारवतबाट मार्च सुरु गरेका हुन्। करिब ५ हजारभन्दा बढी प्रदर्शनकारी सहभागी रहेको र प्रान्तीय मुख्यमन्त्री सोहेल अफ्रिदीले मार्चको नेतृत्व गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सरकार र पीटीआईबीच प्रदर्शन रोक्ने विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि समर्थकहरू राजधानीतर्फ अघि बढेका हुन्। इमरान खान सन् २०२३ देखि जेलमा छन् र उनका अधिकांश दोषसिद्धि अपिलपछि निलम्बित वा उल्टिएका छन्; एउटा मुद्दा भने अझै बाँकी रहेको रिपोर्टहरूमा उल्लेख छ।
यसैबीच, पाकिस्तानी सरकारले प्रदर्शनकारीलाई इस्लामाबाद प्रवेश गर्न नदिने चेतावनी दिएको छ। राजधानी प्रवेश गर्ने प्रमुख सडकहरूमा बालुवा भरिएका र वेल्ड गरिएका कन्टेनर राखेर अवरोध तयार गरिएको छ भने ठूलो संख्यामा प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ।
पीटीआईले इमरान खानको रिहाइसँगै उनका परिवारका सदस्यलाई भेट्न दिनुपर्ने र उनको स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ। पार्टीले यसअघि स्थगित गरिएको मार्च पुनः सुरु गर्ने निर्णय गरेपछि पाकिस्तानको राजनीतिक तनाव थप बढेको छ।
सरकारले भने पाकिस्तानमा पछिल्लो समय बढेको सुरक्षा चुनौती र खैबर पख्तुनख्वामा जारी उग्रवादी गतिविधिका कारण ठूलो राजनीतिक प्रदर्शनले थप तनाव निम्त्याउन सक्ने बताउँदै आएको छ। गृहमन्त्री मोहसिन नक्वीले राजधानीमा सार्वजनिक सडक अवरुद्ध गर्ने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन्।
मार्च अघि बढ्दै जाँदा इस्लामाबादमा सरकार र पीटीआई समर्थकबीच पुनः आमनेसामने हुने जोखिम बढेको छ। यसअघि पनि इमरान खानका समर्थकहरूको प्रदर्शनका क्रममा सुरक्षा बलसँग झडप भएका थिए। अहिले सरकारले राजधानीका प्रवेशद्वारमा कडा सुरक्षा व्यवस्था गरेकाले आगामी दिनमा मार्चले कस्तो रूप लिन्छ भन्नेमा पाकिस्तानको राजनीतिक तथा सुरक्षा क्षेत्रको ध्यान केन्द्रित भएको छ।