फ्लाईदुबईको एफजेड१०७३ उडानमा सहपाइलटको चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रशंसा गरेका छन्। नेतन्याहूले गम्भीर घाइते अवस्थामा पनि ककपिटको ढोका खोल्न सफल भएर यात्रु तथा चालक दललाई आक्रमणकारीलाई नियन्त्रणमा लिन अवसर दिएको भन्दै उनलाई ‘सच्चा हिरो’ बताएका छन्।
दुबईबाट तेल अभिवतर्फ जाँदै गरेको विमानमा भएको घटनापछि विमान तीव्र रूपमा तल झरेको थियो। यात्रु तथा चालक दलले कथित आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानमा रहेका अन्य पाइलटहरूले नियन्त्रण सम्हालेका थिए र विमानलाई साउदी अरबको ताबुकमा सुरक्षित अवतरण गराइएको थियो। विमानमा १७४ जना रहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पाइलट मच्छरको प्रशंसा गरेका छन्। नेतन्याहूसँग घटनाबारे लामो कुराकानी भएको बताउँदै ट्रम्पले गम्भीर घाइते अवस्थामा पनि ककपिटको ढोका खोल्न सफल हुनु उनको साहसपूर्ण कार्य भएको बताएका हुन्। ट्रम्पले यात्रुमध्ये आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गर्ने इजरायली नागरिकको समेत प्रशंसा गरेका छन्।
घटनामा घाइते पाइलट मच्छर र सहपाइलट दुवैलाई ताबुकमा उपचारका लागि अस्पताल लगिएको छ। सहपाइलटलाई साउदी अधिकारीहरूले नियन्त्रणमा लिएका छन्। घटनाको उद्देश्यबारे अनुसन्धान जारी रहेकाले फ्लाईदुबईले तत्काल निष्कर्ष निकाल्न नहुने बताएको छ।
घटनापछि इजरायलले आफ्नो देशतर्फ उडान गर्ने विदेशी विमानका पाइलटहरूको सुरक्षा जाँच थप कडा बनाउने संकेत दिएको छ। इजरायली अधिकारीहरूले घटनालाई गम्भीर सुरक्षा घटना मानेका छन्, तर कथित आक्रमणको वास्तविक उद्देश्यबारे अनुसन्धान पूरा हुन बाँकी छ।