साउदी अरबको लाल सागरस्थित यान्बु बन्दरगाहबाट कच्चा तेलको लोडिङ अस्थायी रूपमा रोकिएको र युरोपतर्फ पठाउने केही सेप्टेम्बर अन्त्यका तेल ढुवानी रद्द गरिएको रोयटर्सले शिपिङ तथा व्यापारिक स्रोतलाई उद्धृत गर्दै जनाएको छ। यसअघि साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणपछि पाइपलाइन बन्द गरिएको थियो। त्यसको प्रभावसँगै मंगलबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ३ डलरले बढेको थियो।
पूर्व–पश्चिम पाइपलाइनले खाडी क्षेत्रबाट होर्मुज जलडमरूमध्य पार नगरी यान्बु हुँदै लाल सागरमार्फत तेल निर्यात गर्ने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा काम गर्दै आएको छ। यसबीच यमनका हुथीहरू लाल सागरको दक्षिणी क्षेत्रमा रहेको बाब अल–मन्देब जलडमरूमध्य नजिक पुगेपछि समुद्री यातायात र ऊर्जा आपूर्तिबारे चिन्ता थपिएको छ। रोयटर्सका अनुसार सेप्टेम्बरको सुरुवातमा यान्बुबाट दैनिक करिब ३७ लाख ब्यारेलसम्म कच्चा तथा संघनित तेल लोड भइरहेको थियो, तर पछिल्लो घटनाले साउदी तेल निर्यातमा थप दबाब सिर्जना गरेको छ।![]()
![]()