हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै सहयोग तथा समन्वयका लागि नेपाली राजदूतावास कुवेतले हिँजो एक कार्यक्रम आयोजना गरेको छ।
भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कुवेतमा क्रियाशील नेपाली संघ–संस्थाका प्रतिनिधिहरू तथा समुदायका अगुवाहरूको सहभागिता अपेक्षित भए पनि अधिकांश संघ–संस्थालाई कार्यक्रमबारे पर्याप्त जानकारी नदिइएको भन्दै केही सम्बद्ध पक्षले गुनासो गरेका छन्।
समुदायका केही अगुवाहरूले पछिल्लो समय नेपाली राजदूतावासले नेपाली समुदायसँगको समन्वय तथा सहभागितामा समान व्यवहार नगरेको गुनासोसमेत गर्दै आएका छन्। विभिन्न कामको सिलसिलामा राजदूतावाससँग नियमित सम्पर्कमा रहने सीमित संघ–संस्था तथा व्यक्तिहरूलाई मात्र कार्यक्रममा निमन्त्रणा गर्ने र अन्य संघ–संस्थालाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको उनीहरूको आरोप छ।
नेपाली समुदायका अगुवाहरूका अनुसार कुवेतमा नेपाली समुदायको संख्या ठूलो रहेको र विभिन्न सामाजिक, मानवीय तथा परोपकारी कार्यमा सक्रिय संघ–संस्थाहरू पनि धेरै भएकाले यस्ता विपद्का समयमा सबैलाई समेटेर अघि बढ्नु आवश्यक हुन्छ।
उनीहरूले विपद्को समयमा व्यक्तिगत वा संस्थागत प्राथमिकताभन्दा माथि उठेर सबै नेपाली संघ–संस्था, समाजका अगुवा तथा समुदायका प्रतिनिधिहरूसँग सहकार्य र समन्वय गर्न राजदूतावासलाई आग्रह गरेका छन्।
राजदूतावासजस्तो नेपाली समुदायको अभिभावकीय भूमिकामा रहेको संस्थाले सबै संघ–संस्थालाई समान रूपमा सूचना, सहभागिता र सहकार्यको अवसर प्रदान गर्न सकेमा समुदायमा अझ सकारात्मक सन्देश जाने र आपसी सौहार्द तथा एकता थप मजबुत हुने उनीहरूको धारणा छ।
यस विषयमा सम्बन्धित पक्षले आगामी दिनमा कार्यक्रम आयोजना गर्दा कुवेतमा क्रियाशील सबै नेपाली संघ–संस्थासँग प्रभावकारी समन्वय गर्दै सबैलाई समेट्ने वातावरण बनाउन पर्ने आवश्यकता देखिएको छ।