सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा व्यापक आर्थिक अनियमितता भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संस्थानका तत्कालीन महाप्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको छ।
सीआईबीका अनुसार संस्थानका उच्च अधिकारी, चिस्यान केन्द्र प्रमुख तथा कर्मचारीको मिलेमतोमा संगठित रूपमा गैरकानुनी आर्थिक लाभ लिने कार्य भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले योजनाबद्ध रूपमा विभिन्न समूह बनाएर संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुर्याएको आरोप लगाइएको छ। अनुसन्धानमा हालसम्म १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक हानि भएको देखिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जिव झा रहेका छन्। त्यस्तै, तत्कालीन चिस्यान केन्द्र इन्चार्जहरू विजयकुमार यादव, मनहरी शर्मा र रामकेवल राय पनि पक्राउ परेका छन्।
यसैगरी संस्थानका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी लाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
सीआईबीले उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ‘आपराधिक विश्वासघात’ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनीहरूलाई कात्तिक १३ गते काठमाडौं, चितवन, सर्लाही र कास्कीका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
प्रहरीले अनियमितताको प्रकृति, रकम कसरी हिनामिना गरियो र यसमा अन्य व्यक्तिको समेत संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।