Sunday 27th September 2026

अनलाइनबाटै वैदेशिक रोजगार उजुरी


काठमाडौं। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी ठगी तथा गुनासोको सुनुवाइलाई सहज बनाउन ‘उजुरी तथा मुद्दा व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ। मंगलबार युवा, श्रम तथा रोजगार मन्त्रालयले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेको हो।

अब ujuri.dofe.gov.np मार्फत वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका व्यक्ति वा उनका परिवारले स्वदेश वा विदेशबाटै प्रमाणसहित अनलाइन उजुरी दर्ता गर्न सक्नेछन्। रकम लिएर विदेश नपठाएको, तोकिएभन्दा बढी शुल्क असुलेको, राहदानी कब्जा गरेको वा सम्झौताअनुसार तलब, काम र सेवा–सुविधा नपाएको लगायतका विषयमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

विभागका अनुसार नयाँ प्रणालीले उजुरी तथा मुद्दा व्यवस्थापनलाई छिटो, छरितो, सरल र पीडितमैत्री बनाउनेछ। साथै, उजुरीको अवस्था सम्बन्धित व्यक्तिलाई इमेल र एसएमएसमार्फत जानकारी गराइने व्यवस्था पनि गरिएको छ।

प्रणाली पूर्ण रूपमा कार्यान्वयन भएपछि वैदेशिक रोजगारसम्बन्धी उजुरी देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट दर्ता गर्न सकिनेछ। यससँगै उजुरी दर्ता गर्न काठमाडौं नै पुग्नुपर्ने बाध्यताको अन्त्य हुने विभागले जनाएको छ।

सामान्य प्रकृतिका वैदेशिक रोजगार ठगीका घटनाको मिलापत्र सम्बन्धित जिल्लामै गरिनेछ भने मिलापत्र हुन नसकेका वा गम्भीर प्रकृतिका घटनाको अनुसन्धान तथा कारबाही वैदेशिक रोजगार विभागले गर्ने व्यवस्था मिलाइएको छ।

विभागले नयाँ प्रणालीबाट वैदेशिक रोजगार ठगीका पीडितलाई छिटो न्याय दिलाउन, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र अलपत्र परेका नेपाली श्रमिकको उद्धार प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।


सम्बन्धित शीर्षकहरु

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परेर मानवीय क्षति भएको आशंका गरिएको छ। सशस्त्र…

आजदेखि हिन्दु धर्मावलम्बीहरूले पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु गरेका छन्। यस अवधिमा दिवंगत पूर्वजहरूको सम्झना गर्दै तर्पण, पिण्डदान, जल अर्पण, दान…

अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा सुरक्षा बलले मानव तस्करीको प्रयास विफल पार्दै ११३ जनाको उद्धार गरेको छ। प्रहरीका अनुसार ६ जना…

प्रतिकृयाहरू
...