लगातार चार दिनदेखि परेको वर्षाका कारण नवलपरासीका विभिन्न क्षेत्र प्रभावित भएका छन्। नारायणी नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेपछि तटीय बस्तीहरू डुबानमा परेका छन् भने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
गैँडाकोट, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीका नदी किनारका बस्तीमा बाढी पस्दा सयौं स्थानीय प्रभावित भएका छन्। गैँडाकोटको १८ घरका ११४ जनालाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दुको भुताहामा १७ घरधुरीका ६१ जनाको उद्धार गरिएको छ।
नारायणी नदीमा बहाव बढ्दै जाँदा त्रिवेणीस्थित गण्डक बाँधका सबै ढोका खोलिएका छन् र चेतावनीस्वरूप साइरन बजाइएको छ। देवघाटमा नदीको जलस्तर ११.८१ मिटर पुगेको जनाइएको छ।
यता, दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ भने कालीगण्डकी करिडोर र अन्य पहाडी सडकहरू पहिरोका कारण प्रभावित भएका छन्। सुरक्षा निकायले नदी किनारका बासिन्दालाई सुरक्षित रहन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेका छन्।