थाइल्याण्डको राजधानी बैंककमा लगातारको भारी वर्षापछि आएको बाढीले जनजीवन प्रभावित भएको छ। बाढीका कारण करिब ४,९०० जनालाई सुरक्षित आश्रयस्थलमा सारिएको छ भने करिब ५२ हजार घरधुरी प्रभावित भएका छन्।
बिहीबारदेखि आइतबारसम्म केही क्षेत्रमा ३३० मिलिमिटरभन्दा बढी वर्षा भएपछि बैंककका सबै ५० जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको छ।
बाढीका कारण घर, सडक र बजार क्षेत्रहरू जलमग्न भएका छन्। धेरै परिवारले घर छाडेर विद्यालय तथा अस्थायी आश्रयस्थलमा बस्नुपरेको छ। केही स्थानमा घरभित्र ३० घण्टाभन्दा बढी समय पानी जमेको स्थानीयले बताएका छन्।
बैंकक महानगरपालिकाले नहरहरूमा पानीको सतह अझै उच्च रहेको जनाएको छ। थप वर्षाको सम्भावना रहेकाले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ।
बाढीका कारण सयौं विद्यालय बन्द भएका छन् भने अत्यावश्यक सामग्री किन्ने भीड बढेपछि सरकारले सर्वसाधारणलाई अनावश्यक रूपमा सामान भण्डारण नगर्न अनुरोध गरेको छ।
-https://www.theguardian.com/world/2026/sep/27/our-house-was-under-water-bangkok-floods-force-thousands-into-shelters-as-disaster-declared